भ्रष्टाचार उन्मूलन र युवा रोजगारी प्राथमिकताराष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार विवेककुमार श्रेष्ठको चुनावी प्रतिबद्धता मंगलवार नेपालगन्जमा सार्वजनिक गरेको छ ।जिल्लाका प्रतिनिधिमूलक पत्रकार र आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुमाझ उम्मेदवार श्रेष्ठले ‘भ्रष्टाचारको उन्मूलन र सुशासन’ तथा ‘युवा रोजगार र समृद्धि’लाई आफ्नो मुख्य अभियानका रूपमा अघि सारेका छन् । मतदातालाई सम्बोधन गर्दै उनले देशमा सुशासन, पारदर्शिता र युवाको रोजगारी सुनिश्चित गर्न आफू उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।उनले विगतमा सत्तामा पुगेका दलहरू नातावाद, कृपावाद, भागबण्डा र भ्रष्टाचारमा फसेको आरोप लगाउँदै अब प्रणाली परिवर्तनको आवश्यकता औंल्याएका छन् । ज्ञात–अज्ञात शहीदको सपना र ‘जेन्जी आन्दोलन’को मर्मअनुसार स्थायी, स्पष्ट बहुमतसहितको सरकार निर्माण गर्दै आधुनिक नेपाल बनाउने संकल्प उनले व्यक्त गरेका छन् । शून्य सहनशीलता र जवाफदेहिता श्रेष्ठले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने तथा संघीय नीति निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । दलीय स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति जवाफदेही भएर काम गर्ने उनको भनाइ छ । बाँके जिल्लाका लागि प्राथमिकता बाँके जिल्लाको समग्र विकासका लागि उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण र सूचना प्रविधिमा साझा नीति निर्माण गरी कार्यान्वयनमा सहजीकरण गर्ने उनले बताएका छन् । सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न पहल गर्ने, राप्ती तटबन्ध सुदृढ गर्ने तथा फोहोर व्यवस्थापन र ढल निकासको एकीकृत योजना लागू गर्न प्रयास गर्ने उनको योजना छ । हरेक पालिकामा कम्तिमा एक दिगो पर्यटकीय गन्तव्य विकास गर्ने र स्थानीय उत्पादनको बजारीकरण तथा ब्रान्डिङमा जोड दिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ । बाँके–२ केन्द्रित योजना बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सडक, ढल र खानेपानीजस्ता आधारभूत पूर्वाधार सुदृढीकरण गर्ने उनले बताएका छन् । भेरी अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न संघीय पहल गर्ने तथा नेपालगञ्जलाई पश्चिम नेपालकै प्रमुख स्वास्थ्य हबका रूपमा उभ्याउने योजना उनले अघि सारेका छन् । सीमावर्ती व्यापार, भन्सार व्यवस्थापन र खुला सीमाबाट सिर्जित चुनौती समाधानका लागि संघीय नीति सुधार आवश्यक रहेको उनले उल्लेख गरेका छन् । युवा रोजगारीका लागि सीपमूलक तालिम, स्टार्टअप र साना उद्यम प्रवद्र्धन, कृषि उत्पादनको भण्डारण–प्रशोधन र बजार सुनिश्चितता, तथा प्राविधिक शिक्षा विस्तार उनका प्रमुख एजेन्डा रहेका छन् । त्यसैगरी मधेसी, मुस्लिम, जनजाति, अल्पसंख्यक र पहाडी समुदायको सामाजिक–सांस्कृतिक पहिचान संरक्षण र समावेशी विकासमा जोड दिइएको छ । डुडुवादेखि जानकीसम्म हुलाकी मार्ग चार लेन विस्तार, कान्ति ताल–मानपुर तथा राँझा–ट्राफिक चोक क्षेत्रमा आकाशे पुल र उडान पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । प्रदेश र स्थानीय तहसँग समन्वय लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, उद्योग र व्यवसायको हबका रूपमा ब्रान्डिङ गर्ने, डुडुवामा दुग्ध प्रशोधन उद्योग स्थापना गर्न पहल गर्ने र प्रदेश बजेटमार्फत कृषि, स्वास्थ्य तथा रोजगारी कार्यक्रम विस्तार गर्ने योजना उनले सार्वजनिक गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकासँग सहकार्य गर्दै सडक स्तरोन्नति, गुरुयोजना निर्माण, पर्यटकीय विकास, जडीबुटी प्रशोधन उद्योग स्थापना तथा कृषि–पशुपालन उत्पादनको उचित मूल्य सुनिश्चित गर्न पहल गर्ने उनको प्रतिबद्धता छ । उम्मेदवार श्रेष्ठले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गरी संसद् किनबेच, भागबण्डा र भ्रष्टाचार अन्त्यका लागि साथ दिन अपिल गरेका छन् । ‘घण्टीमा परेको एक मतले देश परिवर्तन सम्भव छ,’ उनले अन्त्यमा उल्लेख गरेका छन् ।जिल्ला पार्टी अध्यक्ष हरिपाल केसीको अध्यक्षतामा भएको ‘वाचापत्र घोषणा’ नाम दिइएको कार्यक्रममा रास्वपाका लुम्बिनी प्रदेश महासचिव निलराज अधिकारीले पार्टी संगठन र आन्दोलनका विभिन्न पक्षबारे बोलेका थिए ।
बाँके–२ मा रास्वपा उम्मेदवार विवेककुमार श्रेष्ठको प्रतिबद्धता सार्वजनिक
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
जुम्लामा आइतबार पनि विद्यालय सञ्चालन गर्ने
by
Dainik Nepalgunj
April 24, 2026
वैशाख ११ : लोकतन्त्र दिवस
by
Dainik Nepalgunj
April 24, 2026
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
by
Dainik Nepalgunj
April 24, 2026
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’
by
Dainik Nepalgunj
April 24, 2026
ओझेलमा बालअधिकारको सवाल
by
Dainik Nepalgunj
April 24, 2026