आज शुक्रबारदेखि ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३’ आयोजना हुँदैछ ।
होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा हुन लागेको उक्त फेस्टिबलको तयारी सकिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
बैशाख १३ गतेसम्म सुशील कोइराला स्मृति गेटदेखि पश्चिमतर्फको वाटरपार्क क्षेत्रमा सञ्चालन गरिनेछ । पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालगन्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि फेस्टिबलको छ ।
आयोजकका अनुसार फेस्टिबलमा स्ट्रीट फुडदेखि पाँच तारे होटलका विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइनेछ । साथै स्थानीय तथा आधुनिक खानाका परिकारसँगै पेय पदार्थ, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ ।
कार्यक्रममा करिब ४० वटा स्टल रहनेछन् । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।
