आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यका लागि औपचारिक सम्झौता भएपछि त्यसको प्रभावमा परेका छन्, प्रलोपा उम्मेदवार तेज प्रसाद भण्डारी ।
दुवै दलबीच शनिवार नेपालगन्जमा सार्वजनिक भएको सहमतिअनुसार लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा तालमेल लागू गरिनेछ ।
बाँके क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कृष्णा के.सी. नमुनालाई संयुक्त रूपमा सघाउने तथा आमसभा र प्रचार–प्रसारमा सहकार्य गर्ने सहमति भएको छ ।
समानुपातिकतर्फ भने नाउपा नेपालको चुनाव चिन्ह ‘जाँतो’मा सहयोग गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी बाँके क्षेत्र नम्बर ३ मा प्रलोपाले प्रत्यक्षतर्फका उम्मेदवार ध्रुव चौधरीलाई समर्थन गर्ने तथा समानुपातिकतर्फ नाउपा नेपालको चुनाव चिन्ह ‘जाँतो’मै मत माग्ने सहमति गरिएको छ । यो सहमतिले प्रलोपा उम्मेदवार भण्डारीमाथि घात भएको उनको टिप्पणी छ ।नाउपा नेपालले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मामात्रै उम्मेदवारी दिएको थियो भने, प्रलोपाले तीन वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । तर, यो सम्झौतापछि क्षेत्र नम्बर ३ का प्रलोपा उम्मेदवार तेज प्रसाद भण्डारीलाई ‘ब्याक’ गरिएको देखिन्छ । बाँके २ बारे नेपालगन्जमै गरिएको यो सम्झौताले केही बोलेको छैन ।
प्रलोपाको उम्मेदवारी बाँके २ मा पनि छ । ‘पार्टीका जिल्ला नेताले प्रस्ताव गर्नु भएको हो,’ सम्झौतापत्र सार्वजनिक भएपछि भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचनको डेढ साता अगाडी आएर कसैलाई जिताउने नाममा म यतिका मतदाताको विश्वासमा घात गर्न सक्दिन भनेपछि उहाँहरु ब्याक हुनु भयो ।’
भण्डारीले आफु ‘बस्नका लागि नउठेको’ प्रष्ट पार्दै परिणामले ‘देखाइदिने’ चेतावनी दिए ।
नेपालगन्जमा अबेरराती सम्झौता भइरहँदा निर्वाचन क्षेत्रमा प्रचाप्रसारमा व्यस्त भेटिएका भण्डारीले दैनिक नेपालगन्जसँग सम्पर्क गर्दै भने, ‘बाँकेमा वास्तविक माओवादीका तर्फबाट एक्लो उम्मेदवार भएकाले मैले जित्ने सम्भावना देखिएपछि भएको खेल हो ।’ उनले नाउपासँग भएको पछिल्लो सम्झौताले आफ्लाई कुनै फरक नपर्ने दावी पनि गरेका छन् ।
