जिल्ला प्रशासन कार्यालय बाँकेले आज शुक्रबारदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नहुँदासम्मका लागि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवन निषेध गरेको छ । मदिराजन्य पदार्थको बिक्री, वितरण सेवनले निर्वाचनमा असर पार्न सक्ने, अवाञ्छित गतिविधि र अमर्यादित क्रियाकलाप हुनसक्ने आशंकामा केन्द्रीय निर्णय अनुसार नै मदिराजन्य पदार्थ निषेध गरिएको बताइन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ्गले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोगको निर्णयानुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मदिरा निषेध गरेको सूचना जारी गरेका हुन् ।
मदिराजन्य पदार्थको बिक्री वितरण रोक लगाउन होटल, व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन् । होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले कानुन बमोजिम व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउँछन् । ‘निर्वाचन आचारसंहिता अनुसार मौन अवधी तथा सुरक्षा चुनौति भए मदिराजन्य पदार्थको बिक्री रोक्नुलाई अन्यथा रूपमा लिन सकिंदैन’, उनले भने, ‘मौन अवधी नरहेको अवस्थामा समेत मदिराजन्य पदार्थको नियमन उचित भएपनि व्यवसायमा नै रोक लगाउने खालको निर्णय उचित होइन ।’
‘प्रशासनको सूचनाले निर्वाचन अगावै ७ दिन र निर्वाचनपछि कति दिन मदिराको कारोबार बन्द गर्नुपर्ने हो स्पष्ट छैन’, एक होटल व्यवसायीले भने, ‘प्रत्यक्ष तर्फको गणना त एक/दुई दिनमै सकिएला समानुपातिक मत गन्न साता दिन लाग्यो भने कति दिन होटल, रेष्टुरेन्ट बन्द गर्ने, होटल रेष्टुरेन्ट बन्द गरेर कति दिन कर्मचारी पाल्ने भाडा तिर्ने, कर तिर्ने राज्यले त्यता किन सोच्दैन ?’
