जिल्ला निर्वाचन कार्यालयले बाँकेको दुई वटा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचनमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले बाँके क्षेत्र नं. २ र ३ को निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र बाहेकका निर्वाचनका क्रममा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।
‘क्षेत्र नं. १ मा आइतबार निर्वाचन सामाग्री हस्तान्तरण गर्नेछौं’, निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीले भने, ‘सबै सामान चेकजाँच गरेर पर्याप्त हुने किसिमले बुझाएका छौं, सोमबार मतदान अधिकृतलाई आवश्यक सहजीकरण पनि गर्नेछौं ।’
शाहीले सोमबारदेखि निर्वाचनमा खटिने कर्मचारीहरू मतदान केन्द्र तथा स्थलमा खटिने जानकारी दिए । ‘त्यसपछि मतदानका लागि आवश्यक पूर्व तयारीका कामहरू हुनेछन्’, उनले भने ।
