नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त ७५ वर्ष पुगेका जेष्ठ नागरिक पूर्वकर्मचारीहरूलाई सम्मान गरिएको छ । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ नेपालगन्जले उनीहरूको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।

मंगलवार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक नारायण प्रसाद पोखरेलले बैंकबाट अवकाश भई ७५ वर्ष उमेर पुगेका सात जना पूर्व कर्मचारीलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा प्रमुख अतिथि, निर्देशक पोखरेलले सम्मानस्वरूप कदरपत्र र दोसल्ला प्रदान गर्दै अवकाशपछि पनि अनुभव र ऊर्जाले समाजलाई योगदान दिन सकिने बताए । उनले बैंकको विकास र संस्थागत मजबुतीमा पूर्व कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने धारणा व्यक्त गरे ।

आयोजक, नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका अध्यक्ष जगदीश बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित कर्मचारीका तर्फबाट विष्णुलाल कुमालले सम्मानले आफ्नो सक्रिय जीवनमा थप ऊर्जा मिलेको बताए । उनले यस्तो सम्मानले अवकाशप्राप्त कर्मचारीहरूलाई उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व कर्मचारीहरूबीच आपसी भेटघाट तथा अनुभव आदान–प्रदानसमेत गरिएको थियो । कार्यक्रम सञ्चालक, नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका नेपालगन्जका सचिव रमेश मल्लका अनुसार, त्रिबिक्रम कँुवर, बिष्णु लाल कुमाल, श्याम लाल लगायतका सात जनालाई सम्मान गरिएको हो ।

नेपालगन्ज शाखा उत्कृष्ट

नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका देशभरिकै शाखामा यस वर्षको उत्कृष्ट शाखा सम्मान नेपालगन्जले प्राप्त गरेको छ ।

‘संघको उद्देश्य अनुरुपका विभिन्न क्रियाकलापहरुमा सरिक भइ गरेको कार्यसम्पादन मुुल्यांकनमा उत्कृष्ट देखिएको’ भन्दै नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय समितिले सम्मान गरेको नेपालगन्ज शाखाका सचिव रमेश मल्लले जानकारी दिए ।

‘यसले हामीलाई थप हौषला प्रदान गरेको छ,’ सचिव मल्लले उत्साहित हुँदै दैनिक नेपालगन्जसंग भने ।

Exit mobile version