जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा सम्पन्न भएका सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार फागुन महिनामा कुल १ सय १९ वटा मुद्दा दर्ता भएका छन्, जसमा जघन्य तथा गम्भीर अपराध ५ वटा, गम्भीर अपराधका ३१ वटा र सामान्य अपराध ८३ वटा रहेका छन् ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८ वटा मुद्दा दर्ता भई १० जना पक्राउ परेका छन् भने आर्थिक अपराधका २० वटा घटना दर्ता भएका छन् । यस अवधिमा विभिन्न मुद्दामा संलग्न ८८ जना प्रतिवादी पक्राउ गरिएको जनाइएको छ । साथै सार्वजनिक अपराधअन्तर्गत पेन्डिङ रहेका १७ वटा मुद्दाको सफल अनुसन्धान सम्पन्न गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी भने फागुन महिनामा कुनै मुद्दा दर्ता नभएको प्रहरीको भनाइ छ ।
२८ फरार पक्राउ
फैसला कार्यान्वयनतर्फ २७ जना पक्राउ परेका छन्, जसमा ७ वर्ष ४ महिना १६ दिन कैद सजाय र करिब १४ लाख ४३ हजार ९ सय ७६ रूपैयाँ जरिवाना असुल बाँकी रहेको थियो ।
महिला तथा बालबालिका सम्बन्धी ७७ उजुरी
महिला तथा बालबालिका सम्बन्धी उजुरीतर्फ ७७ वटा उजुरी दर्ता भएका छन्, जसमा ४२ वटा फछ्र्योट भइसकेका छन् भने बाँकी अनुसन्धानमै रहेका छन् । हराएका तथा फेला परेका व्यक्तिहरूको तथ्यांकअनुसार ३२ महिला, १६ बालिका र ८ बालक हराएकोमा केहीलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले फागुनमा उजुरी परेका १२ महिला, ९ बालिका र ३ बालकलाई फेला पारेको थियो ।
फागुन महिनामा बाँके प्रहरीमा घरेलु हिंसाका ५५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ३० वटा मिलापत्र गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार यस अवधिमा प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ३ सय ४८ वटा उजुरी परेका छन्, जसमा २ सय ३ वटा फछ्र्यौट भएका छन् भने १ सय ४५ वटा अनुसन्धानकै क्रममा रहेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १७ उजुरीमध्ये ४ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेका छन् ।
लागुऔषध सहित ११ पक्राउ
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र ४९ वटा नाइट्रोजेपा ट्याब्लेट बरामद गर्दै ११ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको जनाएको छ ।
सूचनामा प्रहरी
अपराध न्यूनीकरणका लागि प्रहरीले विद्यालय तथा समुदायमा ३२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ३ सय २० महिला र ५ सय ९० पुरुष लाभान्वित भएका छन् ।
बाँके प्रहरीले शान्ति सुरक्षा कायम राख्न प्रहरीले नियमित रूपमा ९६० पटक पिकेटिङ, ८७० पटक चेकजाँच, २ हजार २३ पटक ग्रामीण गस्ती र ११ पटक ग्रामीण गस्ती सञ्चालन गरेको जनाएको छ । साथै विभिन्न आन्दोलन, बन्द तथा सार्वजनिक कार्यक्रममा ४५ जना प्रहरी परिचालन गरिएको थियो ।
यसैगरी, अवैध हातहतियार तथा गोलिगाँठा नियन्त्रणतर्फ ४ वटा होक्स बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।
