माजोङ्ग नेपालगन्ज क्यासिनोको सामाजिक पहलः रक्तदानदेखि छात्रवृत्तिसम्म मानवसेवामा सक्रिय
मनोरञ्जन व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै माजोङ्ग होल्डिङ्स अन्तर्गत सञ्चालित ‘माजोङ्ग नेपालगन्ज क्यासिनो’ले मानवहितका विविध कार्यक्रममार्फत समुदायमा सकारात्मक सन्देश फैलाइरहेको जनाएको छ ।
त्यसक्रममा विहीवार रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । ‘४७ जनाले स्वेच्छिक रक्तदान गरेका छन्,’ आयोजक इम्पेरियल इन्टरटेन्मेन्ट प्रा. लि. एचआर म्यानेजर अजीत केसीले दैनिक नेपालगन्जसँग भने ।
केसीका अनुसार, कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै वि.सं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको हो । रक्त अभावका कारण ज्यान गुमाउने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले स्थानीय स्तरमै ठूलो प्रभाव पार्दै आएको केसीको भनाइ छ ।
केसीले शिक्षा क्षेत्रमा पनि कम्पनीले उल्लेखनीय योगदान पु¥याउँदै आएको जनाए । ‘वि.सं. २०८० देखि नेपालगन्ज उपमहानगरपालिका–१९ भित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई एक शैक्षिक सत्रभरि पुग्ने कापी र कलम वितरण गर्दै आएको छ,’ उनले भने । उनको भनाइ थियो, ‘आर्थिक अभावका कारण अध्ययनमा बाधा नपरोस् भन्ने उद्देश्यले गरिएको यस पहलले विपन्न परिवारका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको छ ।’
ज्येष्ठ नागरिकप्रति पनि कम्पनीले विशेष संवेदनशीलता देखाएको जनाएको छ । ‘वि.सं. २०८१ देखि नेपालगन्जस्थित नीलसागर वृद्धाश्रममा मासिक रूपमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको छ,’ कम्पनीका एचआर म्यानेजर केसीले भने, ‘यस सहयोगले आश्रित वृद्धवृद्धाहरूको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेको छ भने समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान र सहयोगको सन्देश समेत प्रवाह गरेको छ ।’
त्यसैगरी, इम्पेरियल इन्टरटेन्मेन्ट प्रा. लि. ले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली १०+२ उत्तीर्ण १० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने महत्वाकांक्षी योजना सञ्चालनमा ल्याएको केसीको दावी छ । ‘यस कार्यक्रममार्फत योग्य विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास गरिएको छ,’ उनले भने ।
कम्पनीका अनुसार, यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने र समाजप्रति उत्तरदायी भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
‘समग्रमा, माजोङ्ग नेपालगन्ज क्यासिनोले व्यापारसँगै समाजसेवालाई सँगै अघि बढाउँदै स्थानीय समुदायमा आशा, सहयोग र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको देखिन्छ,’ केसीले विहीवार आयोजित रक्तदान कार्यक्रममा भने ।
