होटल तथा रेष्टुरेन्ट क्षेत्रमा लगानी बढिरहँदा नेपालगन्जमा आज शुक्रबारदेखि अर्को होटल थपिएको छ । इलेक्ट्रोनिक व्यापारमा लामो समयदेखि क्रियाशिल कान्तिपुर इलेक्ट्रोनिक्स होटल तथा रेष्टुरेन्ट क्षेत्रमा लगानी बिस्तार आज शुक्रबारदेखि ‘होटल कान्तिपुर प्लाजा’ सञ्चालनमा ल्याएको हो । औपचारिक कार्यक्रम बीच कँडेल परिवारका अभिभावक चन्द्रमणि कँडेलले होटल उद्घाटन गरे।
झण्डै १५ करोड लागतमा धम्बोझी चोक नजिकै सेवा शुभारम्भ गर्न लागेको कान्तिपुर प्लाजाले होटलको छातामूनि बार, रेष्टुरेन्ट र क्याफे सेवा सञ्चालनमा ल्याएको होटल कान्तिपुर प्लाजाका प्रबन्ध निर्देशक ऋषि कंडेलले जानकारी दिए ।
‘प्राइम लोकेशनमा स्तरीय सेवा प्रवाह गरेर होटल तथा पर्यटनको क्षेत्रमा लगानी बिस्तार गरिएको हो’, निर्देशक कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘यसले हस्पिटालिटी क्षेत्रमा सम्भावनाको खोजी गर्ने हाम्रो प्रयासलाई सार्थकता दिने विश्वास लिएका छौं ।’ कान्तिपुरले ३२ जना कर्मचारीलाई रोजगारी सहित सेवा सुचारु गर्न लागेको जनाएको छ । ‘छिट्टै ४५ जना कर्मचारी पुग्नेछन्’, कंडेलले दुई स्वीट रुम सहित २७ वटा कोठाको होटल, कन्फ्रेन्स हल, मिटिङ कक्ष सहित सुविधा प्रदान गर्ने जानकारी दिंदै भने ।
इलेक्ट्रोनिक बजारमा कान्तिपुर इलेक्ट्रोनिक्सबाट व्यवसायिक करिअर बनाएका कंडेलले कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजाको सफल सञ्चालन पछि लगानीमा विविधता गर्दै हस्पिटालिटी क्षेत्रमा लगानी बिस्तार गरेका हुन् । ‘यो सुरुवात हो’, उनले अनुभव र लगानी बिस्तारका आधारमा पर्यटन क्षेत्रमा लगानीको सम्भावना औंल्याउँदै भने ।
