जनप्रतिनिधि र कर्मचारीबीच विवादले सेवा प्रभावित
सीमावर्ती भारतीय बजार रुपैडिहामा करिब एक सातादेखि देखिएको विवादका कारण सरसफाइ व्यवस्था पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीय अभियन्ता, नगर अध्यक्ष तथा सरसफाइ कर्मचारीबीचको विवादले नगरको फोहोर व्यवस्थापन प्रभावित भएको हो ।
स्थानीय पत्रकार एसके मधेसियाका अनुसार, विवादको मुख्य कारण नगर अध्यक्ष अश्विनी गुप्ता र सरसफाइ कर्मचारीबीचको भनाभन तथा अभद्र व्यवहारलाई मानिएको छ । कर्मचारीहरूले अध्यक्षको घर तथा कार्यालय अगाडि फोहोर फाल्नुका साथै अपशब्द प्रयोग गरेको आरोप लागेको छ । यसै कारण केही दिनसम्म सरसफाइ कार्य पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
ईद पर्वपछि भने कर्मचारीहरू पुनः काममा फर्किएका छन् । तर आवश्यक उपकरण उपलब्ध नभएका कारण विभिन्न स्थानमा अझै फोहोर थुप्रिएको अवस्था रहेको छ । सरसफाइ कर्मचारीहरूले अध्यक्षबाट उपकरण नदिएको आरोप लगाएका छन् ।
फोहोर व्यवस्थापन बिग्रँदै जाँदा रुपैडिहा नगर व्यापार संघले विरोध जनाउँदै स्टेशन रोडमा सडक अवरुद्ध गरेको छ । सोमवार गरिएको प्रदर्शनका कारण केही समय यातायात प्रभावित भएको थियो ।
‘हाल नगरमा आंशिक रूपमा सरसफाइ सुरु भए पनि विवाद समाधान नहुँदा दीर्घकालीन समाधान अझै अनिश्चित देखिएको छ,’ पत्रकार मधेसियाले दैनिक नेपालगन्जसँग भने ।
