नेपालगन्जमा साहित्यिक गुञ्जन

रानाभाट स्मृति पुरस्कारबाट गणेश जि.सी. सम्मानित, दुर्गा दिदीलाई सम्मान

भेरी साहित्य समाज केन्द्रीय समिति, नेपालगन्जको आयोजनामा बुधबार एक सुसंस्कृत र भावनात्मक वातावरणबीच ‘लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार तथा सम्मान अर्पण’ कार्यक्रम भव्य रूपमा आयोजना भएको छ ।

कार्यक्रममा यस वर्षको लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कारबाट बाँकेका वरिष्ठ साहित्यकार गणेश जि. सी. सम्मानित गरिएको छ । रु १५ हजार १११ नगद राशिको पुरस्कार, खादासहित सम्मान कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कोषका संस्थापकद्वय भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटले अर्पण गरेका हुन् ।

त्यसैगरी, सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी उपाध्यक्ष तथा राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जकी प्रमुख, दुर्गा दिदीलाई पनि सोही अवसरमा स्मृति सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, प्रलेस नेपालका पूर्व अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जीवेन्द्रदेव गिरिले कार्यक्रममा आफ्ना महत्वपूर्ण धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इश्वरी रिजाल ‘उल्कापात’ले स्वागत मन्तव्य व्यक्त गरे भने कोषका संस्थापकद्वयले आफ्ना दिवंगत अभिभावकको स्मरण गर्दै कोष स्थापना र यसको यात्राबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कोषमा हालसम्म संचित रकम रु ३ लाख १३ हजार १११ पुगेको जानकारी दिइएको छ । यसैबीच, भीमबहादुर रानाभाटका सुपुत्र इन्जिनियर दीपक रानाभाटले थप रु ५० हजार १११ सहयोग गर्दै कोषलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरिप्रसाद तिमिल्सिनाले पुरस्कृत तथा सम्मानित व्यक्तित्वको योगदानमाथि प्रकाश पारेका थिए ।

साहित्यिक माहोललाई थप सजीव बनाउँदै तारा खत्री, अर्चना पाठक, करिस्मा योगी, सिता पोखरेल ‘सुनगाभा’ र पत्रकार निशु जोशीले कविता वाचन गगरेको कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मासहित सुन्दर गुरुङले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव सुन्दर गुरुङले गरेका थिए ।

यसखालको कार्यक्रमले साहित्य, संस्कृति र सामाजिक योगदानलाई एकै थलोमा जोड्दै नेपालगन्जको सांस्कृतिक धड्कनलाई पुनः एकपटक जीवन्त बनाएको अनुभूति गराएको कार्यक्रमका सहभागीले टिप्पणी गरे ।

स्वर्गीय लक्षिमा रानाभाट र शेरबहादुर रानाभाटको स्मृतिमा छोरा भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटले कोषको स्थापना गरेका थिए ।

Exit mobile version