रासायनिक मलको विकल्प जैविक मल

नेपाल सरकारले वर्षेनी अर्बौँ रूपैयाँ खर्चेर रासायनिक मल आयात गर्दै आएको अवस्थामा यसको दिगो विकल्प जैविक मलको उत्पादन र प्रयोगलाई प्रवद्र्धन गर्नु उपयुक्त हुने सम्बद्धहरूले बताउँदै आएका छन् । रासायनिक मलका लागि सरकारले अर्बौ रूपैयाँ अनुदान दिने गरेको छ ।

कृषि विज्ञहरू देशमै प्रशस्त कच्चा पदार्थ उपलब्ध भएकाले जैविक मल आत्मनिर्भर बन्न सक्ने सम्भावना औंल्याउँदै आएका छन् । तर किसानस्तरमा यसको प्रयोग न्यून हुनु, बजार पहुँच अभाव, गुणस्तर मापदण्डको कमी र सरकारी प्रोत्साहन नपुग्नु प्रमुख चुनौती मानिन्छ । विशेषज्ञहरूले जैविक मलको प्रचारप्रसार, सहुलियत ऋण, उत्पादन प्रविधि हस्तान्तरण र व्यवस्थित बजारीकरणमार्फत रासायनिक मलमा खर्चिँदै आएको भारी अनुदानलाई दीर्घकालीन रूपमा घटाउन सकिने बताउँदै आएका छन् ।

‘रासायनिक मलको विकल्प जैविक मल बन्न सक्छ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरे भन्छन्, ‘फलफुल, तरकारी, नर्सरीका लागि जैविक मलको प्रयोग बढिरहेको छ ।’ उनी धान, गहुँ जस्ता बालिमा पनि जैविक मलको प्रयोग गर्न सकिने बताउँछन् । ‘धान, गहुँ जस्ता बालिमा गोठे मल अझै प्रभावकारी हुन्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक परे ज्ञान केन्द्रले किसानलाई सहजीकरण पनि गर्दै आएको छ ।’
‘जैविक, प्राङ्गारिक मलको प्रयोगले दीर्घकालीन रूपमा माटोलाई राम्रो बनाउँदै लैजान्छ’, कृषि ज्ञान केन्द्र प्रमुख डा. घिमिरेले भने, ‘यस्ता मलको प्रयोगले माटोको भौतिक, रासायनिक र जैविक गुणमा मात्र नभएर उत्पादित वस्तुहरूको गुणमा, भण्डारणमा खानाको स्वादमा तथा मानव स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।’

नेपालमा जैविक मलका विषयमा चर्चा नभएको होइन । वर्षौँदेखि यसका लागि प्रयास भइरहे तापनि रासायनिक मलको निर्भरता झन् बढ्दो अवस्थामा छ । रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको र कृषिका लागि आवश्यक पर्ने सूक्ष्म जीवको नाश भइरहेको जैविक मलका अभियन्ताहरू बताउँछन् ।

माटोमा जभाभावी रासायनिक मलको प्रयोग हानिकारक हुन्छ, यसलाई न्यूनीकरण गर्ने वा प्रतिस्थापन गर्ने सबैभन्दा सजिलो उपाय नै जैविक मलको उत्पादन हो ।

रासायनिक मलमा अनुदान दिनुभन्दा जैविक मल बनाउन अनुदान दिन राज्यको ध्यान जानु पर्ने एभरेष्ट अर्गानिक एग्रोफर्म नेपालगन्जका सञ्चालक विर बहादुर हमाल बताउँछन् ।

एग्रोफर्म सञ्चालक हमाल थोरै लगानी, स्थानीय स्रोत साधनको सदुपयोग र निरन्तर मेहनतबाट पनि सफलता हासिल गर्न सकिने बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका–१८ का हमालले गड्यौला मल उत्पादनबाट आत्मनिर्भर बन्दै उनले कृषि क्षेत्रमा जैविक मलको सम्भावनाको नयाँ ढोका खोलेका छन् ।

विगत १२ वर्षदेखि एभरेष्ट अर्गानिक एग्रो फार्म सञ्चालन गर्दै आएका हमालले हाल गड्यौला, गोबर र झारपातको प्रयोग गरी बार्षिक ६ सय ४० क्वीन्टल गड्यौला मल तयार गर्दै आएका छन् ।
‘गड्यौला मलले माटोको उर्वराशक्ति बढाउँछ, बालीको गुणस्तर सुधार्छ र वातावरण संरक्षणमा सहयोग गर्छ’, हमाल भन्छन्, ‘हाल ढाई कठ्ठा जमिनमा ५४ वटा पीड मार्फत तीन महिनामा करिब १ सय ६० क्विन्टल मल उत्पादन गरिरहेको छु ।’ बर्षमा चार पटक गड्यौला मल तयार गर्न सकिने जानकारी दिंदै उनी वार्षिक २०–२५ लाख रूपैयाँको कारोबार गर्दै आएको बताउँछन् ।

एग्रोफर्म सञ्चालक हमालले उत्पादित मलको करिब ५० प्रतिशत बाँकेमै बिक्री हुने गरेको जानकारी दिए । ‘बाँकी मल दाङ्ग, जुम्ला, बाजुरा, दैलेख, सल्यान लगायतका जिल्लामा बिक्री गर्दै आएको छु’, हमालले भने, ‘माग धेरै आउँदा अन्य फर्महरूमा उत्पादित मलको बिक्रीका लागि सहजीकरण गर्दै आएको छु ।

हमाल बाँकेमा गड्यौला मल व्यवसायिक रूपमा ७÷८ जनाले गर्दै आएको बताउँछन् । ‘बैजनाथ गाउँपालिका ६० वटा घरमा पनि गड्यौला मल उत्पादनका लागि २÷२ वटा पिट किसानले राखेका छन्’, उनले भने ।

‘पहिले समस्या थियो मल बिक्री गर्न, अहिले बुझ्दै गएपछि फलफुल, तरकारीमा प्रयोगका लागि बाँके बाहेकका जिल्लाबाट पनि किसानले लगिरहनु भएको छ’, उनी भन्छन्, ‘रासायनिक मलको अनुसान घटाएर यता तर्फ दिने हो भने अर्बौ रूपैयाँ विदेश जानबाट जोगिन्छ, स्वदेशमा रोजगारी पनि सिर्जना हुन्छ ।’

सुरुमा १ किलो बिउ गड्यौला किनेर मल उत्पादन सुरु गरेका हमालले हाल बिउ गड्यौला बिक्री गर्ने, माग भएर तालिम तथा प्रशिक्षण पनि दिने गरेका छन् ।

‘थोरै लगानीमा राम्रो आम्दानी छ’, फर्मकी अर्की सञ्चालक जानकी हमाल भन्छिन्, ‘भाडामा जग्गा लिएर गड्यौला मल उत्पादन गर्दा घर खर्च राम्रो सँग चलेको छ ।’

स्थानीय स्रोतको सदुपयोग गर्दै किसानको आम्दानी बढाउने र माटोको गुणस्तर सुधार्ने उद्देश्यले सुरुमा कम मात्रामा जैविक मल प्रयोग गरी बिस्तारै यसको मात्रा बढाउनु लाभदायक हुने उद्यमी बिन्दु जोशी बताउँछिन् । कौशल धर्मिक एग्रो फार्म नेपालगन्जकी सञ्चालक उनले २१ वटा पिट राखेर गड्यौला मल उत्पादन गर्दै आएकी छिन् । ‘सरकारले जैविक मलको बजारीकरणमा सघाउने र उत्पादन प्रोत्साहन र प्रयोग बढाउने नीति लिने हो भने रासायानिक मलको प्रयोग घटाउन सकिन्छ’, उनी भन्छिन् ।

स्थानीय स्रोतको सदुपयोग, धैर्य र निरन्तर प्रयासबाट कृषिलाई व्यावसायिक र सम्मानजनक पेशा बनाउन सकिने जानकी हमाल बताउँछिन् । ‘सरकारले रासायनिक मलको विकल्पका रूपमा गड्यौला मललाई प्राथमिकता दिनुपर्छ’, उनी भन्छिन्, ‘यसले माटोको उर्वराशक्ति बढाउँछ, बालीको गुणस्तर सुधार्छ र किसानको स्वास्थ्य सुरक्षित गर्दै आत्मनिर्भर कृषि सुनिश्चित गर्छ ।’

Exit mobile version