युनाइटेड एजुकेशनल एकेडेमीका विद्यार्थीहरूले शनिवार भव्य ‘विदाइ’ कार्यक्रम आयोजना गरेका छन् । भव्य कार्यक्रम आयोजना गरि कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई भावुक वातावरणबीच बिदाइ गरेका हुन् ।
कार्यक्रम कक्षा ११ का विद्यार्थी मिर्थलेस वर्माको सभापतित्वमा आयोजना भएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्ड, कोहलपुर शाखाका प्रमुख प्रकाश शाहीको उपस्थिति रहेको थियो । साथै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवीन गिरी, विद्यालयका सञ्चालक, शिक्षक तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा सम्झनाहरू साटासाट गर्दै कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको कामना गरिएको थियो । आयोजकका अनुसार, कार्यक्रममा करिब ८०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
युनाइटेड प्लस निर्देशक गणेश पाठकका अनुसार, युनाइटेडका अध्यक्ष तरुण बज्राचार्य, प्रवन्ध निर्देशक विकास बज्राचार्य, प्रिन्सिपल जीवराज भण्डारीलगायतले अथितिहरुलाई मायाको चिनो वितरण गरेका थिए ।
