बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

बैशाख संक्रान्ति, नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार, प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा भक्तजनको उल्लेखनीय घुइँचो देखिएको छ । एकाबिहानैदेखि दर्शन तथा पूजा–आराधनाका लागि आएका श्रद्धालुहरूले नयाँ वर्षको सुरुवात धार्मिक आस्था, उत्साह र भक्तिभावका साथ गरेका छन् ।

नयाँ वर्षको अवसरमा मन्दिर परिसरमा बिहानैदेखि भीड बढ्दै गएको थियो भने श्रद्धालुहरू लामो लाइनमा बसेर शान्तिपूर्ण रूपमा दर्शन गरिरहेका थिए । विशेष पूजाआजा तथा आरतीका कारण मन्दिर क्षेत्र पूरै धार्मिक वातावरणमा रमाएको थियो ।

वैशाख संक्रान्ति (बैशाख १ गते) नेपाली संस्कृति र सनातन धर्ममा अत्यन्तै महत्त्वपूर्ण दिन हो । यो विक्रम संवत्को पहिलो दिन र नयाँ वर्षको सुरुवात मानिन्छ । बैशाख संक्रान्तिले सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिनलाई जनाउँछ । यसलाई ज्योतिषीय दृष्टिकोणले सौर वर्षको पहिलो दिन (मेष संक्रान्ति) मानिन्छ ।

यस दिन बिहानै पवित्र नदी वा तलाउमा स्नान गर्ने, मन्दिर दर्शन गर्ने र पूजाआजा गर्ने परम्परा छ । नयाँ वर्षको सुरुवात भगवानको आराधना र आशीर्वादबाट गर्नाले वर्षभरि सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ ।

प्रकृतिको पूजाः यो समयमा प्रकृतिको पूजा गर्ने, विगतको समीक्षा गर्ने र भविष्यको योजना बनाउने अवसरको रूपमा पनि यसलाई लिइन्छ ।

ज्योतिष शास्त्रअनुसार सूर्यको राशि परिवर्तनसँगै ऋतुहरूमा पनि परिवर्तन आउँछ । यसले वातावरणमा नयाँ ऊर्जा र उत्साह लिएर आउँछ ।

बागेश्वरी मन्दिर व्यवस्थापनका अनुसार, भक्तजनको आवागमनलाई हेरेर सुरक्षा तथा व्यवस्थापनलाई व्यवस्थित गरिएको थियो ।

Exit mobile version