बाँके अटोमोबाइल्स एशोसियसनले सवारी साधनको जाँच पास प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायसँग माग गरेको छ। एशोसियसनका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर वलीले यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई सम्बोधन गर्दै बुझाइएको निवेदनमा हालको प्रक्रिया व्यवहारिक नभएको उल्लेख गरिएको छ।
निवेदन अनुसार नेपालभर सञ्चालनमा रहेका बाइक, कार, जीप, ट्रक, बस, ट्र्याक्टर, ब्याकुहो लोडर, रोलर, स्काभेटर लगायतका सवारी साधन विभिन्न प्रदेश र जिल्लामा प्रयोग भइरहेका छन्। तर, दर्ता नामसारी गर्दा अनिवार्य रूपमा सवारी दर्ता भएको मूल यातायात कार्यालयमै पुगेर जाँच पास गर्नुपर्ने नियमका कारण सेवाग्राहीले समस्या भोगिरहेका छन्।
एशोसियसनले काठमाडौँमा दर्ता भएका सवारी साधन लुम्बिनी र कर्णाली प्रदेशमा तथा ती प्रदेशका सवारी साधन बागमती र गण्डकी प्रदेशमा सञ्चालन भइरहेकाले नामसारीका लागि सयौँ किलोमिटर टाढा जानु अव्यवहारिक भएको जनाएको छ।
यस समस्याको समाधानका लागि एशोसियसनले दुई विकल्प प्रस्ताव गरेको छ। पहिलो, सवारी रहेको स्थान नजिकको यातायात कार्यालयका प्राविधिक र दर्ता रहेको कार्यालयका प्राविधिकबीच सहकार्य गरी जाँच पास गर्ने व्यवस्था लागू गर्नुपर्ने। दोस्रो, सवारी मालिक वा चालकले भिडियो कलमार्फत प्राविधिकलाई सवारीको सम्पूर्ण विवरण (इन्जिन, चेसिस लगायत) देखाएर प्रमाणित गर्ने प्रणाली विकास गर्नुपर्ने।
निवेदनमा उल्लेख गरिएअनुसार, हालको व्यवस्थाका कारण सवारी धनीहरू राज्यबाट पाउनुपर्ने न्यूनतम सेवाबाट समेत वञ्चित भइरहेको दाबी गरिएको छ। त्यसैले आवश्यक परे कानुनी तथा नीतिगत सुधार गरी यस्ता विकल्प तत्काल लागू गर्न आग्रह गरिएको छ।
यस विषयमा यातायात व्यवस्था विभाग, उद्योग पर्यटन तथा यातायात मन्त्रालय लगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ।































