उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीले नयाँ पहल गरिरहेको हो
स्वदेशमै उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपालगन्जस्थित, भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ पहल अघि सारेको छ । भरोसाले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना सदस्यहरूलाई लक्षित गर्दै सहुलियतदरमा बिनाधितो कर्जा प्रवाह गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले नेपालमा बढ्दो बेरोजगारी, सीमित औद्योगिक विस्तार र अवसरको अभावका कारण युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला यसरी पहल लिइएको बताए ।
भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलले यस कार्यक्रमले केवल आर्थिक सहयोग मात्र नभई युवाहरूमा उद्यमशील सोच विकास गर्ने, जोखिम लिन प्रेरित गर्ने र साना व्यवसायमार्फत दीर्घकालीन आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास स्थापित गर्ने बताए । उनका अनुसार, स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनालाई व्यवहारमा उतार्ने लक्ष्यसहित यो योजना ल्याइएको हो ।
भरोसाले स्ट्रीट फुड, डिजिटल प्रविधि तथा एआई, सैलुन तथा ब्युटी पार्लर र महिला उद्यमशीलता जस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न सदस्यहरूबाट आवेदन आह्वान गरेको छ । यी क्षेत्रहरू कम लगानीमा सुरु गर्न सकिने, छिटो आम्दानी दिने र दीर्घकालीन रूपमा विस्तार गर्न सकिने भएकाले प्राथमिकतामा राखिएको प्रमुख कार्यकारी अधिकृत रावलको भनाइ छ ।
कार्यक्रमअन्तर्गत अधिकतम तीन लाख रुपैयाँसम्म बिनाधितो कर्जा उपलब्ध गराइनेछ । आवेदन दिने व्यक्तिहरू सहकारीका सदस्य हुनुपर्ने, सम्बन्धित क्षेत्रमा आवश्यक सीप भएको हुनुपर्ने र स्पष्ट व्यवसायिक योजना पेश गर्नुपर्नेछ । प्राप्त आवेदनहरूलाई शर्टलिस्ट गरी अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिने व्यवस्था गरिएको छ ।
‘भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको यो पहल सानो भए पनि दीर्घकालीन रूपमा ठूलो आर्थिक प्रभाव पार्न सक्ने देखिएको छ,’ सम्बद्ध भन्छन् । उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू अहिलेको आवश्यकता भएको सहकारी विज्ञहरूको धारणा छ ।





























