ट्रेड युनियनहरू खारेज गर्ने सरकारको कार्यसूचीबारे बहस चलिरहेका बेला नेपालको निजामती क्षेत्रको पहिलो तथा अग्रणी संगठन नेपाल निजामती कर्मचारी संगठन आफ्नो स्थापनाको ३६औँ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संगठनका अध्यक्ष देवीलाल चौलागाईंले आम कर्मचारी, संगठन सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
जारी शुभकामना सन्देशमा संगठनले सार्वजनिक सेवा प्रवाहसँगै मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका विभिन्न चरणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाको आन्दोलनदेखि २०६२/०६३ को संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म संगठनको योगदान इतिहासमा सुरक्षित रहेको दाबी गरिएको छ।
संगठनले जनआकांक्षा र जनचाहनाअनुसार आफूलाई रूपान्तरण गर्दै कर्मचारी संयन्त्रलाई समयानुकूल परिचालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाएको छ। सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने र सार्वजनिक सेवालाई जनताको घरदैलोसम्म पुर्याउने कार्यमा संगठन विगतदेखि नै प्रतिबद्ध रहेको चौलागाईंले बताएका छन्।
नवगठित सरकारले अघि सारेका शासकीय सुधारका अधिकांश विषयहरू आफूहरूले पहिलेदेखि उठाउँदै आएको भन्दै संगठनले त्यसको स्वागत गरेको छ। साथै “क्षतिपूर्ति सहितको नागरिक सेवा” सम्बन्धी कानुनी व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा संगठनले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै “शीघ्र सेवा : तीव्र विकास” नारालाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। आम कर्मचारीलाई सोहीअनुसार प्रशिक्षण दिइँदै आएको पनि उल्लेख गरिएको छ।
यद्यपि पेशागत ट्रेड युनियनलाई दलिय ट्रेड युनियनका रूपमा व्याख्या गरिनु गलत, पूर्वाग्रही तथा दुःखद भएको संगठनको भनाइ छ। कानुनी राज्यमा कानूनभन्दा माथि कोही नहुने उल्लेख गर्दै संगठनले कसैमाथि पूर्वाग्रह र दुराग्रह राख्न नहुने धारणा व्यक्त गरेको छ।
अन्त्यमा संगठनले ट्रेड युनियन खारेज गर्नुपर्ने कुनै आधार वा कारण नदेखिएको बताउँदै संगठित हुन पाउने, संघ–संगठन खोल्न पाउने तथा श्रम अभ्यास गर्न पाउने संवैधानिक एवं राष्ट्रिय/अन्तर्राष्ट्रिय अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।






























