रबिन्द्र घिमिरे
नेपालगञ्ज उपमहानगरपालिकाले नगरमा सञ्चालित अब्यवस्थित बसपार्क हटाएको छ । बर्दिया गुलरियाका लागि गाडी छुट्ने धम्बोझी खजुरा रोडस्थित बसपार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरुका लागि गाडी छुट्ने पुष्पलाल चोक वाटरपार्कस्थित बसपार्क आज नगर प्रहरीले हटाएको हो । नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरीको अगुवाईमा नेपाल प्रहरी रट्राफिक प्रहरीको उपस्थितिमा बसपार्क हटाइएको हो ।
नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले नेपालगञ्ज(४ मा अत्याधुनिक बसपार्क हुँदाहुँदै कतिपय ठाउँमा मनलाग्दी अब्यवस्ति बसपार्क राखेकोले पूर्व सूचना अनुसार नै बसपार्क हटाइएको बताए । यस अघि माइकिंग गरेर बसपार्क हटाउन सूचित गरिएको बोगटीले बताए । बसपार्कबाट गाडी छुट्ने एकद्वार प्रणाली लागू गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बोगटीको भनाई छ । ठाउँ ठाउँमा अब्यवस्थित बसपार्क हुँदा यात्रुहरुलाई दुःख, हैरानी दिने, तानातान गर्ने प्रबृत्ति छ ।
यस्तै नगर प्रहरीले नेपालगञ्ज १० गणेशमान चोकदेखि पश्चिमतर्फ भृकुटीनगरमा ब्यवसाय दर्ता नै नगरी फुटपाथ कब्जा गरेर बसेका व्यवसायीलाई पनि हटाएको छ । नेपाली र भारतीय समेत रहेका ब्यवसायीहरुलाई हटाइएको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार पवनकुमार कनौजियाले जानकारी दिए । उनीहरुलाई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिइएको छ ।






























