बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

दमकल मोटरसाइकल सेवा सुरु गर्दै नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट (फाइल तस्विर) ।

बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । ‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले विपद्का कतिपय जोखिम नियन्त्रण बाहिर रहेकाले चनाखो हुन आग्रह गर्दै यसका लागि विपदको पूर्वतयारी आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्का विभिन्न क्षेत्रमा उपमहानगरपालिकाले सुपर परियोजनासँग सहकार्य गरेको जानकारी दिँदै नेपालगन्जमा ‘हिट वेभ’ कार्ययोजना प्रभावकारी बनाउन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो “विपद्को विषय तीन तहका सरकारको साझा दायित्व हो ।” 

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगन्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासको आफूहरुले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराउनुभएको थियो ।

आगलागी भएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा तीन दमकल, एउटा फायर ब्रिगेड बाइक रहेको छ । उपमहानगरपालिकाको दमकल शाखाका इन्चार्ज झैनबहादुर खड्काले नेपालगन्जमा विद्युतीय अनियमितताका कारण धेरै आगलागीका घटना भएको जानकारी दिँदै सूचना प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगको बताउनुभयो ।

विपद्का घटनाको अध्ययन र विश्लेषणका आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ र ७ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । पुरानो बस्ती, माटोका घर र साँघुरा बाटोका कारण यहाँ जोखिम बढी देखिएको सुपर परियोजना कार्यसञ्चालन केन्द्रका सूचना अधिकत रुपन ज्ञवालीले जानकारी दिनुभयो । ती दुई वडामा ४०० जनालाई ‘सामुदायिक विपद् स्वयंसेवक’का रूपमा तयार पारिएको र उनीहरूलाई आगलागी नियन्त्रण, भूकम्प तथा डुबानबाट सुरक्षित रहने उपायबारे तालिम दिइएको उहाँको भनाइ छ । 

पश्चिम नेपालको प्रमुख सहरका रूपमा विकसित हुँदै गएको नेपालगन्जमा अव्यवस्थित सहरीकरणले जोखिम झन बढाएको छ । यस जिल्लामा करिब २५ हजार घरपरिवारका ए लाख ५० हजार नागरिक विभिन्न विपद्बाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । 
Exit mobile version