जानकी गाउँपालिकाले सार्वजनिक स्थानहरूमा बढ्दो फोहोरमैला तथा वायु प्रदूषण नियन्त्रण गर्न अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिकाले सार्वजनिक सडक, नाली, नहर, सिंचाइ योजना, खोला, कुलो तथा सडक वरपर विभिन्न व्यक्ति, संस्था, काठ उद्योग तथा अन्य व्यवसायिक संस्थाबाट प्रदूषण भइरहेको भन्दै जनगुनासो व्यापक रूपमा आएको जनाएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक स्थानमा फोहोर फाल्ने, अव्यवस्थित ढंगले फोहोर व्यवस्थापन गर्ने तथा फोहोर वायु उत्सर्जन गरी वातावरण प्रदूषित गर्ने सबै जिम्मेवार व्यक्ति, संस्था, उद्योगी तथा व्यवसायीलाई १५ दिनभित्र नियमानुसार फोहोरमैला व्यवस्थापन तथा वायु प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएको छ।
गाउँपालिकाका अनुसार मिति २०८३ साल वैशाख ९ गते बसेको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सूचना जारी गरिएको हो।
सूचनामा तोकिएको १५ दिनभित्र सार्वजनिक स्थलको फोहोर व्यवस्थापन नगरेमा तथा वायु प्रदूषण नियन्त्रण नगरेमा सम्बन्धित व्यक्ति, संस्था र व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
उक्त सूचनामा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय ले हस्ताक्षर गरेका छन्।






























