नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।
उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ ।






























