बाँके जिल्लामा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार जिल्लामा भएका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएका हुन् ।
प्रहरीका अनुसार मंसिरदेखि चैत्रसम्मको अवधिमा बाँकेमा कुल ३ सय ५० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ सय ३६ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् भने ४ सय ८० जना घाइते भएका छन् ।
तथ्यांकले देखाएअनुसार दुर्घटनाका कारणमध्ये सबैभन्दा बढी २ सय २६ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन् । यस्तै चालकको लापरवाहीका कारण ४८ वटा दुर्घटना भएको प्रहरीको भनाइ छ । अन्य दुर्घटनाका कारणमा सडकको अवस्था, मौसम, मादक पदार्थ सेवन, ओभरटेक तथा यान्त्रिक गडबडीसमेत रहेका छन् ।
महिनागत विवरण हेर्दा मंसिर महिनामा १ सय १ दुर्घटना भएका छन् । त्यसपछि पुसमा १ सय ११ दुर्घटना, माघमा ६९, फागुनमा ३३ र चैत्रमा ३६ दुर्घटना भएका छन् । पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ ।
दुर्घटनामा संलग्न सवारीसाधनको संख्या पनि उल्लेखनीय रहेको छ । मंसिरमा १ सय ५५, पुसमा १ सय ७७, माघमा १ सय २, फागुनमा ४८ र चैत्रमा ५४ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।
मृत्यु हुनेको संख्या हेर्दा मंसिरमा ४ जना, पुसमा ६ जना, माघमा ६ जना, फागुनमा ४ जना र चैत्रमा ७ जनाको मृत्यु भएको छ । चैत्र महिनामा दुर्घटनाको संख्या कम भए पनि मृत्यु हुनेको संख्या सबैभन्दा बढी देखिएको छ ।
त्यस्तै घाइते हुनेको संख्या मंसिरमा १ सय ४२ जना, पुसमा १ सय ६० जना, माघमा ८८ जना, फागुनमा ४६ जना र चैत्रमा ४४ जना रहेका छन् ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण, ट्राफिक नियम कडाइका साथ कार्यान्वयन, चालक सचेतना कार्यक्रम र नियमित चेकजाँचलाई प्रभावकारी बनाउने योजना अनुसार सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । विशेषगरी राजमार्ग र व्यस्त सडकखण्डमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सके दुर्घटनामा थप कमी आउने विश्वास गरिएको छ ।
बाँकेमा ट्राफिक नियम उल्लंघन गर्ने १० हजारभन्दा बढी सवारीसाधन कारवाहीमा, पाँच महिनामा ८५ लाख राजस्व संकलन
बाँके जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि प्रहरीले कडाइ गर्दै गएको देखिएको छ । पछिल्लो पाँच महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १० हजारभन्दा बढी सवारीसाधनलाई कारवाही गरिएको छ । कारवाहीबाट ८५ लाख १२ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार मंसिरदेखि चैत्र मसान्तसम्म कुल १० हजार ८४ वटा सवारीसाधन ट्राफिक कारवाहीमा परेका हुन् । ट्राफिक नियम उल्लंघन, कागजात नबोक्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने, तीव्र गति, सवारी क्षमता भन्दा बढी यात्रु बोक्ने, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्ने लगायतका कारणले कारवाही गरिएको प्रहरीले जनाएको छ ।
महिनागत विवरणअनुसार मंसिर महिनामा सबैभन्दा बढी २ हजार ३ सय ७ वटा सवारीसाधन कारवाहीमा परेका छन् । सो महिनामा १९ लाख १२ हजार ५ सय रूपैयाँ जरिवाना राजस्व संकलन भएको छ ।
त्यसैगरी पुस महिनामा २ हजार १ सय ५० वटा सवारीसाधन कारवाहीमा पर्दा १८ लाख २२ हजार ५ सय रूपैयाँ जरिवाना उठाइएको छ ।
माघ महिनामा २ हजार २ सय ५ वटा सवारीसाधन कारवाहीमा परेका छन् भने सो महिनामा १८ लाख ३८ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
फागुन महिनामा १ हजार ६ सय ४१ वटा सवारीसाधन कारवाहीमा पर्दा १३ लाख ८२ हजार ५ सय रूपैयाँ जरिवाना असुली गरिएको छ ।
यस्तै चैत्र महिनामा १ हजार ७ सय ८१ वटा सवारीसाधन कारवाहीमा परेका छन् । उक्त महिनामा १५ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार पछिल्ला महिनाहरूमा कारवाहीको संख्या केही घटबढ भए पनि ट्राफिक निगरानी भने निरन्तर कडा बनाइएको देखिन्छ । जिल्लामा बढ्दो सवारी चाप, सडक अनुशासन उल्लंघन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकजाँच, सचेतनामूलक कार्यक्रम तथा निगरानी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारी कागजात साथमा राख्न, तीव्र गति नियन्त्रण गर्न तथा सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै आएको छ । नियम पालना गरे दुर्घटना कम हुनुका साथै अनावश्यक जरिवानाबाट पनि बच्न सकिने प्रहरीले जनाएको छ ।






























