थारु समुदायको परम्परागत खानालाई संस्थागत गर्दै व्यवसायिकरणका लागि पहिलो पटक पाँच तारे होटल सोल्टीले ‘थारु फुड फेष्टिबल’ आयोजना गर्ने भएको छ ।
‘चलि गोचाली’ स्लोगन सहित सोल्टी वेष्टेन्ड प्रिमियर परिसरमा बिहीबारदेखि तीन दिनसम्म थारु परिकारहरू पस्किन लागिएको हो । ‘यो स्वादको सहर नेपालगन्जका लागि अर्को महत्वपूर्ण इभेन्टका रूपमा हामीले प्रस्ताव गरेका हौं’, सोल्टी नेपालगन्जका जिएम राजविक्रम शाहले दैनिक नेपालगन्जसँग भने, ‘जहाँ तीन दिनसम्म साँझ ६ बजेदेखि राती ११ बजेसम्म अनलिमिटेड फन एण्ड टेष्टको सुविधा तयारी अगाडि बढाइएको छ ।’
थारु फुड फेष्टिबलका लागि सहुलियत कुपन समेत व्यवस्था मिलाइएको जानकारी दिंदै जिएम शाहले भने, ‘तर फेष्टिबलमा प्रवेशका लागि कुनै शुल्क लाग्ने छैन ।’ होटल सोल्टीमा यस क्षेत्रका परम्परागत थारु स्वादहरू मौलिक रूपमै पस्किने व्यवस्था मिलाएको जानकारी दिंदै जिएम शाहले भने, ‘थारु संस्कार, संस्कृति र स्वाद एकै थलोमा स्तरीय ढंगले पस्किने हाम्रो योजना हो ।’






























