पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी सडकखण्डमा शनिबार भएको सवारीसाधन दुर्घटनामा ३८ जना घाइते भएका छन् । रोकिराखेको ट्रकमा बस ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनामा दुई जनाएको टाउको चोट लागि गम्भीर भएपनि उनीहरू खतरामुक्त रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक शाहीले पूर्वबाट पश्चिमतर्फ आइरहेको बस ट्रकमा ठोक्किएको बताए ।
प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैया सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३५३७ नम्बरको बस रोकिराखेको लु २ ख ५७०८ नम्बरको ट्रकमा ठोक्किएको हो ।
दुर्घटनाको घाइतेको उपचार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र ट्रक दुबैका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिएका छन् ।
बाँकेमा गत चैत्रमा ३६ दुर्घटना भएका थिए । जसमा ५४ वटा सवारीसाधन संलग्न रहेका थिए । चैत्रमा भएका दुर्घटनामा ४४ जना घाइतेभएका थिए भने ७ जनाएको मृत्यु भएको थियो ।




























