बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन लालीगुराँस एसोसिएसन क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।
तेस्रो दिनको पहिलो खेलमा लालीगुराँस एसोसिएसन क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो। लालीगुराँसका जर्सी नम्बर १८ का खेलाडी रोशन सन्च्यालले दोस्रो हाफको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। वर्षाका कारण सोमबार प्रभावित भएको खेल मंगलबार सञ्चालन गरिएको आयोजकले जनाएको छ।
उक्त खेलको ‘म्यान अफ दि म्याच’ रोशन सन्च्याल घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
त्यसैगरी मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले राइजिङ स्टार युवा क्लबलाई २–० गोल अन्तरले हरायो। पुलिसका लागि आशिष थारूले पहिलो हाफको २७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले दोस्रो हाफको ९०औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
उक्त खेलमा आशिष थारू ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
यससँगै लिग चरणका सबै खेलहरू सम्पन्न भएका छन्।
भोलिदेखि सेमिफाइनल चरण सुरु
कोहलपुर–२ स्थित तेह्र बिघा खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको लिग चरण समाप्त भइसकेको छ। अब भोलिदेखि सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन्।
प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतका अनुसार भोलि बेलुका ४:३० बजे आयोजक रेसिङ सहारा क्लब र लालीगुराँस एसोसिएसन क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ।
आठ टोली सहभागी प्रतियोगितामा पञ्चकोशी युवा क्लब, रोयल फुटबल क्लब, सातदोबाटो युथ क्लब र राइजिङ स्टार युवा क्लब लिग चरणबाट बाहिरिएका छन्। रेसिङ सहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसिएसन क्लब र नेपाल पुलिस क्लब भने सेमिफाइनलमा प्रवेश गरेका छन्।
२६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।




























