लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको दुई चौमासिकमा भएको विपद्को घटनामा ठूलो जनधनको क्षति भएको छ । लुम्बिनी प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, चालु आर्थिक बर्षको फागुन मसान्तसम्म लुम्बिनीका १२ वटा जिल्लामा विपद्का १ हजार ५ सय बढी घटना भएका छन् ।
आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार, उक्त विपद्का घटनामा लुम्बिनीमा १ सय ७७ जनाको अकालमा मृत्यु भएको छ । त्यस्तै विपद्का घटनामा ६ सय १४ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा विपद्का घटनामा दुई चौमासिकमा १३ जना बेपत्ता भएका थिए । आर्थिक क्षति १ सय ७.२ मिलियनको आर्थिक क्षति विपद्का घटनाबाट भएको आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक रहेको छ ।
यस बर्ष भएका विपद्का घटनामा सबैभन्दा बढी मानविय क्षति साउन, भदौ र असोज महिनामा भएको छ । उक्त महिनामाहरूमा लुम्बिनीमा भएका विपद्का घटनामा १ सय २० जनाको ज्यान गरेको थियो । साउनमा ४०, भदौमा ४० र असोजमा ४० जनाको ज्यान गएको हो ।
त्यस्तै, विपद्का बढी घटना पनि चालु आर्थिक बर्षको पहिलो तीन महिनामा भएको छ । साउनमा ३ सय ३६, भदौंमा २ सय ६५ र असोजमा १ सय ९९ विपद्का घटना भएका थिए ।
पछिल्लो समय विपद्का घटना देशभर बढ्दै गएका छन् । वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर ४१ जनाको मृत्यु भएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई सय चार जना घाइते भएका र एक हजार १०९ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी चट्याङबाट १२ जनाको ज्यान गएको छ ।
यस्तै, आगलागीबाट आठ, हुरीबतासका कारण छ, लेक लागेर पाँच, जनावरको आक्रमणबाट तीन, सर्पदंश, डुङ्गा पल्टिँदा र पहिरोबाट दुई÷दुई जना र वन डढेलोबाट एक जनाको मृत्यु भएको हो । २२ दिनमा सबैभन्दा बढी आगलागीका तीन सय चार वटा घटना भएका छन् भने चट्याङका एक सय पाँच, हुरीका एक सय ६१, वन डढेलोका एक सय ३० घटना भएका छन् ।




























