जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले नेपालगन्जका विभिन्न व्यवसायिक प्रतिष्ठानको अनुगमन गरेको छ । त्यसक्रममा कैफियत भेटिएका चार वटा व्यवसायिक फर्मलाई अनुगमन समितिले कारवाही समेत गरेको छ । चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जय बागेश्वरी ड्रिकिङ वाटरलाई तत्काल रू २० हजार जरिवाना गर्दै प्रयोग नहुने अवस्थामा रहेको
२३ वटा जार नष्ट गरी उद्योग शिल गरिएको हो ।
त्यस्तै, जय श्रीराम आइस उद्योगलाई बिल विजक बिना कारोबार गरेको फेला पारेपछि २० हजार जरिवाना गर्दै सरसफाई नगरेसम्म उद्योग सञ्चालनमा रोक लगाएको प्रशासनले बताएको छ ।
शान्ति खाद्य उद्योगलाई इजाजत नलिई उद्योग सञ्चालन गरेको फेला परेपछि संयुक्त बजार अनुगमन समितिले ५० हजार जरिवाना गर्दै खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ ।
शाह डिष्ट्रिब्युटर्स एण्ड सप्लायर्सले मूल्य सूची नराखी कारोबार गरेकोले १ लाख जरिवाना गरेको प्रशासनले जानकारी दिएको छ ।
