पश्चिम नेपालकै उपचारको केन्द्र रहेको नेपालगन्जमा जलन सम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल नहुँदा बिरामीहरूले सास्ती ब्यहोर्नु परिरहेको छ । पश्चिमबाट जलनका लागि आउने बिरामी भेरी अस्पताल नेपालगन्ज पुग्ने गरेका छन् ।
पश्चिमका जलनका बिरामी भेरी अस्पताल नेपालगन्ज उपचारका लागि पुग्ने गरेपनि त्यहाँ जनशक्ति तथा पूर्वाधारको समस्या रहेको छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले हालै एक कार्यक्रममा सेवा बिस्तारको प्रयास भएपनि जलन सम्बन्धी आउने बिरामीहरूको उचित व्यवस्थापनका लागि थप पूर्वाधार र जनशक्ति आवश्यक रहेको बताएका थिए ।
पश्चिममा जलन सम्बन्धी उपचारका लागि समस्या देखिएपनि नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि पहल थालेको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले वर्न केयर सेन्टर सञ्चालनका लागि ठूलो खर्च हुने भएको प्रदेश र संघबाट समेत बजेटको अपेक्षा गरिएको बताए । यद्यपि, नगरपालिकाले वर्न सेन्टरका लागि बजेट पाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको गत फागुन २३ गते बसेको बैठकले नेपालगन्ज वडा नं २० मा रहेको उप–महानगरपालिका मातहत ‘सुघरा कैरातिन बहुउद्देश्य भवन’ मा सार्वजनिक निजि साझेदारी मोडलमा जनरल अस्पताल एवम बर्न केयर सेन्टर सञ्चालन गर्नका लागि आशय पत्र माग गर्ने निर्णय गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् । ‘यसअघि प्रदेश र संघले पनि जलन उपचार केन्द्र स्थापना गर्ने विषय आफ्नो नीतिमा समावेश गरेका थिए’, नगर प्रमुख विष्टले भने, ‘त्यहाँबाट बजेट आए भौतिक पूर्वाधार हामी उपलब्ध गराउन सक्छौं भन्नेछ ।’
नगर प्रमुख विष्टले जलनको उपचार महंगो हुने गरेको उल्लेख गर्दै बिरामीलाई राहत दिने हिसाबले वर्न केयर सेन्टर स्थापना हुनुपर्ने धारणा राख्छन् । नेपालगन्ज उपमहानगरपालिकाले जलन उपचार केन्द्र स्थापनालाई आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो ।
जलन सम्बन्धी उपचार, तालिम तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको बिभिएसका फिल्ड अफिसर सुरेन्द्र दिप कार्की जलनको गुणस्तरीय उपचार आवश्यक रहेको बताउँछन् । उनले त्यसका लागि सरकारले पहल गरेको उल्लेख गर्दै जलन उपचारका लागि छुट्टै व्यवस्था आवश्यक रहेको बताउँछन् ।
‘जलन उपचारमा अहिले गुणस्तरीय सेवा लिनका लागि मानिसहरू भारत तथा काठमाडौं जानुपर्ने बाध्यता छ’, कार्की भन्छन्, ‘भेरी अस्पतालमा उपचार हुन्छ, तर त्यहाँ थप उपकरण, स्वास्थ्यकर्मी तथा जनशक्तिको आवश्यक रहेको छ ।’
‘स्थानीय सरकार, केन्द्र सरकारले आफ्नो स्वामित्वमा रहने गरी गुणस्तरीय जलन अस्पताल यस क्षेत्रको आवश्यकता हो’, कार्कीले भने, ‘गरिब, महिला तथा बालबालिका र बृद्धअवस्थाका मानिस यसको मारमा छन् ।’ बिभिएसका फिल्ड अफिसर कार्की आफ्नो जिवनकालमा सबै मानिसले सानो वा ठुलो जलन पीडाको अनुभव गर्दै आएको उल्लेख गर्दै त्यस्ता घटना खाना पकाउँदा, आगो ताप्दा सामान्यतया हुने गरेको बताउँछन् । ‘जलन एउटा पीडादायी, खर्चिलो र अङ्ग भङ्ग बनाई अपाङ्गता समेत बनाउने घटना हो । गाडी दुर्घटना पछि सबै भन्दा बढी जलनका कारण मानिस अपाङ्ग हुने गर्दछन् । नेपालमा तातो पानी, बिजुली, चट्याङ, डढेलो, एसिड र आगोको कारण धेरैले जलको पीडा भोग्ने गरेका छन्’, कार्की भन्छन् ।
बिभिएसका कार्यक्रम अधिकृत चन्द्रसरतुङ्गे मगरले बाँकेमा हालसम्म संस्थाले ९३ जना जलन पीडितलाई मेडिकल सर्जिकल, काउन्सिलिङ्ग लगायतका सहायता उपलब्ध गराएको बताउँछन् । ‘कतिपय जलन पीडितको आर्थिक अवस्था उपचार गराउन सक्ने हुँदैन, उनीहरूलाई हामीले सर्पोट गर्दै आएका छौं’, उनले भने । उनले जलन पीडित एक व्यक्तिलाई सरदर २७ हजारसम्म सहयोग गरेको जानकारी दिए ।
बिभिएसका कार्यक्रम अधिकृत चन्द्रसरतुङ्गेले नेपालमा एसिडजन्य जलन पनि चिन्ताको विषय रहेको बताएका थिए । ‘क्षणिक आवेश, झैझगडाका कारण हुने एसिडजन्य आक्रमणबाट पनि जलनको घटना भैरहेको छ’, उनले पछिल्लो तथ्यांकमा १२ पुरुष र २१ महिला एसिडबाट हुने जलन पीडित रहेको बताएका थिए ।
राष्ट्रियस्तरमा जलनसम्बन्धी अनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तिरका डाटामा निर्भर रहनु परेको छ । त्यही डाटाका आधारमा भन्ने हो भने बर्सेनि ५१ हजार बिरामी अस्पताल गएर नै उपचार गर्नुपर्ने खालको जलन हुने र २१ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । अर्को तथ्याङ्क हेर्दा नेपालमा जति पनि अपाङ्गता भएका व्यक्ति छन्, त्यसको पाँच प्रतिशत चाहिँ जलनबाट नै भएको देखिन्छ ।
मानव सभ्यताको आजसम्मको विकास आगोबिना असम्भव थियो । आगोले पोल्छ, यसको प्रयोग सावधानीपूर्वक गरिनु पर्छ भन्ने ज्ञान जोकोहीमा हुँदाहुँदै पनि थोरै मात्र असावधानी तथा लापर्बाही हुनासाथै मानव शरीरमा गम्भीर क्षति पुग्न सक्छ । यसको गुण नै पोल्नु, पकाउनु, गलाउनु, डढाउनु हो ।
विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वमा बर्सेनि एक करोड १० लाखभन्दा बढी मानिस जलनमा पर्ने गरेका छन् । नेपालमा पनि सानाठुला गरेर हरेक वर्ष ७६ हजारको हाराहारीमा जलनका घटना हुँदै आएका छन् ।
आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, विद्युतीय जलन र आगोमा पकाइएका तथा उमालिएका चिजवस्तु पोखिएर आम रूपमा हुने जलनका घटना अधिक छन् । बन्द कोठामा कोइला बालेर सुत्दा कार्बन मोनोअक्साइड ग्यास र तातो धुवाँमा निस्सासिएर ज्यानै जाने गरेका घटनासमेत छन् । कसैले
रिसइबी साधेर एसिडलगायतका वस्तु छ्यापेका गम्भीर आपराधिक घटनासमेत देखिन्छन् ।