बाँकेमा चालु आ.व. २०८१/०८२ मा १६ जना गर्भवति सुत्केरीको मृत्यु भैसकेको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, विभिन्न कारणले १६ सुत्केरी गर्भवति आमा तथा ८८ वटा शिशुको चालु आ.व.मा ज्यान गएको हो ।
आर्थिक वर्ष २०८१/८२ को हालसम्म मातृ मृत्यु संख्या राप्तीसोनारीमा शुन्य रहेको छ भने शिशु मृत्यु संख्या १ रहेको छ । यसैगरी कोहलपुरमा मातृमृत्यु संख्या ५ र शिशु मृत्यु सख्या २० रहेको छ ।
बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु शुन्य रहेको छ । खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु शुन्य रहेको छ । जानकी मातृ मृत्यु संख्या र शिशुमृत्यु शुन्य रहेको छ भने नेपालगंज उपमहानगरपालिकामा मातृ मृत्यु संख्या ५ रहेको छ भने शिशुमृत्यु संख्या ६० रहेको छ ।
यसैगरी डुडुवा मातृमृत्यु संख्या २ र शिशु मृत्यु संख्या ३ रहेको छ । यसैगरी नरैनापुरमा मातृ मृत्यु संख्या २ र शिशु मृत्यु संख्या ४ रहेको छ यसरी हेर्दा कुल मातृ मृत्यु संख्या १६ र शिशु मृत्यु संख्या ८८ रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८०÷८१ मा जम्मा मातृ मृत्यु संख्या १८ र शिशु मृत्यु संख्या १ सय २७ रहेको छ । जसमा राप्तीसोनारी, कोहलपुर, बैजनाथ, खजुरा, जानकी, नेपालगन्ज, डुडुवा नरैनापुरमा मातृ मृत्यु संख्या र शिशु मृत्यु संख्या क्रमशः २ र ३, १ र ३३, १ र ०, २ र ०, ० र ०, ७ र ८४, २ र २, ३ र ३ रहेको छ ।
जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा मातृमृत्यु संख्या १८ थियो भने शिशु मृत्यु संख्या १ सय ४२ रहेका थियो । २०७९÷ ८० आ.व.लाई हेर्दा नेपालगन्ज उपमहानगरपालिकामा मातृ शिशु मृत्यु संख्या बढी देखिएको छ । जसमा नेपालगन्जमा मातृ मृत्यु संख्या ६ रहेको थियो भने शिशुमृत्यु ९७ रहेको थियो । उक्त आ.व.मा कोहलपुर नगरपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु संख्या ३३ रहेको थियो । यसैगरी क्रमशः राप्ती सोनारीमा मातृ मृत्यु संख्या २ र शिशु मृत्यु संख्या २, बैजनाथ मातृमृत्यु संख्या १ र शिशु मृत्यु संख्या शुन्य, खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या ४ र शिशु मृत्यु संख्या २, जानकीमा मातृमृत्यु संख्या १ आमा र बच्चाको मृत्यु संख्या शुन्य भएको तथ्यांकले देखाउँछ ।
यस्तै डुडुवा गाउँपालिकामा सोही वर्षमा आमाको मृत्यु हुने संख्या १ रहेको छ भने शिशुको मृत्यु हुने संख्या ४ रहेको देखिन्छ । यसैगरी नरैनापुरमा मातृ मृत्यु संख्या ४ र शिशु मृत्यु संख्या ४ रहेको देखिन्छ । यसरी हेर्दा बाँके जिल्लामा सोही आर्थिक वर्षमा जम्मा मातृमृत्यु संख्या २० र शिशु मृत्यु संख्या १ सय ४२ रहेको छ ।
मातृ शिशु मृत्युमा विभिन्न कारण औंल्याइएको छ । जसमा मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको औंल्याइन्छ । समय अनुसार आहारको व्यवस्थापन हुन नसक्दा मानिसलाई कुपोषण हुने गर्दछ । पोषण आहारको कमीले गर्दा कुपोषण हुने गर्दछ भन्ने गरिएता पनि आवश्यकता भन्दा हाम्रो शरिरलाई बेफाइदा पुगाउने खानेकुरा खाँदा पनि कुपोषण हुने विषय पुष्टी भैसकेका अवस्था छ ।
नेपालमा ३४ प्रतिशत महिलाहरूमा रक्तअल्पता पाइन्छ जसमा सबै भन्दा बढि रक्त अल्पता १५ देखि १९ वर्षका किशोरीहरूमा पाइएको छ जसको प्रतिशत ३९ रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरू मध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको बताए ।
जनस्वास्थ्य प्रशासक गौतम भन्छन्, ‘विश्वमा करिब ४५ प्रतिशत बालबालिकाहरूको मृत्यु कुपोषणसँग सम्बन्धित हुन्छन जसमा मध्यम वा न्युन आय भएका देशमा हुने गरेको छ ।’ जनस्वास्थ्य प्रशासक गौतमले भने, ‘लुम्बिनी प्रदेशमा कम तौल भएको बालबालिकाहरू १३ दशमलव ५ प्रतिशत, बाँके जिल्लामा ९ प्रतिशत बालबालिका रहेका छन जसले गर्दा बालवालिकाहरूमा पुड्कोपन,कम तौल र ख्याउटेपन भएको पाइन्छ ।’
यसरी हेर्दा देशभरमा पोषणको अवस्था लुम्बिनी प्रदेशको अवस्था निकै खस्किदो रहेको छ भने बाँके जिल्ला र यसमा पनि नरैनापुरको अवस्था निकै कमजोर भएको बताउँछन स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरी । चौधरी भन्छन्, ‘नरैनापुरमा स्वास्थ्यका सुचाङ्कहरू न्युन अवस्थामा रहेको छ त्यसले गर्दा यस्तो किन भयो त्यसका निम्ति स्थानीय तहदेखि लिएर लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय समेत जिम्मेवार हुनु पर्दछ, यसका लागि सबै मिलेर कार्ययोजना बनाएर अघि बढ्नु पर्दछ ।’
स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले भने, ‘देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढि भएको देखिन्छ यसमा पनि बाँके र कपिलबस्तुको अवस्था निकै गम्भिर रहेको छ, स्थानीय तहको बारेमा कुरा गर्दा मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगन्जमा उच्च रहेको
देखिन्छ ।’
यस्तो अवस्थालाई सुधार तथा समाधानका लागि जनस्वास्थ्य कार्यालयले धुरी संर्वेक्षण लगायतका कामहरू गर्दै आएको जनस्वास्थ्य कार्यालय बाँके बताउँछ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव दुर्गा लक्ष्मी श्रेष्ठले देशभरमा लुम्बिनी प्रदेशमा स्वास्थ्यको समस्यामा पोषणको कमीले गर्दा हुने विभिन्न स्वास्थ्यका जोखिमहरू रहेको बताइन् । लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रेष्ठले भनिन्, ‘पोषणको कारणले गर्दा मातृशिशु मृत्युदर समेत बढी रहेको अवस्थामा यसलाई कमी गर्नका लागि प्रत्येक नागरिक, स्थानीय तहले गर्न सक्छ, हामी प्रदेश तहबाट गर्न सक्ने सम्पूर्ण काम गर्ने प्रतिबद्ध रहेका छौ । अहिले समय हरेक विषय पोषणसँग जोडिएको छ, यसलाई कम गर्न सकियो भने मातृ मृत्युदरलाई समेत कम गर्न सक्छौ ।’
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीय अहमद शाहले भने, ‘नरैनापुरमा स्वास्थ्य,शिक्षा लगायत थुप्रै समस्याहरू रहेका छन त्यसलाई सकेसम्म समाधान गर्नका लागि नरैनापुर गाउँपालिका आफ्नो तर्फबाट लागि परेको छ, तर भन्दा नरैनापुरलाई समस्या नै समस्या भएको क्षेत्र भनेर बुझ्ने तर व्यवहारमा अन्य गाउँपालिका सरह गर्ने गर्दा केही समस्या आएको हो, हामीले यस्ता कार्याक्रमलाई गाउँका कुनकन्दरामा लगेर व्यपाक प्रचारप्रसार गर्न जरुरी रहेको छ ।’ पालिका अध्यक्ष शाहले भने, ‘हामीले समाजमा जनचेतना जगाउन जरुरी छ कि हामीहरू कसरी बाच्नु पर्छ भन्ने कुरा, बालवालिका तथा महिलाहरूको स्वास्थ्यलाई कसरी स्वास्थ्य बनाउन सकिन्छ त्यसबारेमा पनि जनचेतना जगाउँन जरुरी देखेको छु ।’
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीद्वारा सहजीकरण गरेको कार्यक्रममा स्थानीय स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूले आफुलाई पर्ने गरेको समस्या बारेमा कार्ययोजना तयारी गरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्रस्तुत गरी देखाएका थिए ।