मेरो जीवनका ५८ बर्ष मध्ये आफु यो समाजलाई सम्झन सक्ने भएका जम्मा ४५ बर्ष भए । २०३६ सालमा जब देशमा जनमत संग्रहको घोषणा भयो त्यसबेला म मात्रै १२ बर्ष पुगेको थिएँ । त्यो उमेर राजनीतिको बारेमा खासै बुझ्ने उमेर पनि थिएन । तर पनि विद्यालयमा गुरुहरूको खासखुस कुराहरू हुन्थ्यो । “अब बहुदललाई जिताउनु पर्छ, त्यसपछि त देशले काँचुली फेर्छ ।”
वास्तवमा त्यो बहुदल भनेको कुन चराको नाम थियो र त्यो काँचुली फेर्ने भनेको के हो कुनै अत्तोपत्तो थिएन । काँचुली त बेला बेलामा आमा र हजरआमाले सर्पले काँचुली फेर्छ भनेको मात्रै सुनेको थिएँ । अब देशले पनि कस्तो काँचुली फेर्ने रहेछ त्यो मेरो लागि अचम्म कै कुरा थियो । कम्यूनिष्टको राजनीतिमा लागेका केहि गुरुहरू हुनुहुँदो रहेछ क्यारे वहाँहरूको त्यो विदेशी प्रतिमानको वामे शिक्षाको हल्लीखल्लीमा हामीजस्ता बबुराहरू उफ्रिनु कुनै नौलो पनि थिएन । बस काँचुली फेर्छ त फेर्छ । हामीलाई त त्यो निलो कलरका झण्डाको मात्रै शिक्षा पाउने अवसर मिल्यो । २०३८–३९ सालतिर खस्यौलीमा रहँदा सरकारको नून खाएका तर कर्म कम्यूनिष्ट हत्याहिंसा र बन्दुकको गर्नेहरू धेरै भेटिए । शक्ति र सत्ता नै बन्दुकको नालबाट निस्किन्छ भन्ने र नेपालको तत्कालिन राज्यसत्ता भनेको नेपालीको होइन भन्ने शिक्षा बाहेक अर्को कुनै कुरा नहुने वातावरण पनि भेटियो । कर्म गर्ने, पौरख गर्ने, उद्यम गर्ने, एकाधजनालाई रोजगार दिनेहरू समेत सामन्त हुन या सामन्तका मान्छे हुन भन्ने कुराबाट प्रशिक्षित हुने मजस्ता थुप्रै भए ।
श्रम गर्नु र श्रमको मोल लिनुसम्म ठिक थियो तर मोल लिएको श्रमले सृजेको कुरा अरूले प्रयोग गर्दा त्यो श्रमिक ठगिएको, उसले केहि नपाएको भन्ने गीतहरू बनाएर नाच्ने र उफ्रिने काम पनि हुन्थ्यो । कसैको घर ज्याला लिएर ज्यामिले बनाउँछ तर त्यो घर कत्रो हुन्छ र कति सुन्दर हुन्छ अनि त्यसलाई घर मालिकले कसरी प्रयोग गर्छ त्यो उसको खुशी हो । घर बनाउने ज्यामिलाई घर बनिसकेपछि उफ्रिपाफ्रि गर्न दिइरहनुपर्छ भन्ने ? अनि बाटो बनिसकेपछि त्यो बाटोमा बाटो बनाउने ज्यामि पनि हिँड्छ र अरू पनि हिँड्छन्, कार हुनेले कार कुदाउँछ नहुने पैदलै हिँड्छ भने यसमा ज्यामिले के पायो र भन्ने जिद सिकाउने शिक्षा प्रगतिवादी कसरी भयो भयो तर हामीलाई सिकाइयो हामीले सिकेर उफ्रियौं ।
यहि मेरो जीवनको पहिलो राजनीतिक शिक्षा थियो र यहि नै त्यसपछिका ३५ बर्ष रहि रह्यो । कक्षा १२ को परीक्षा छोडी २०४६ सालको आन्दोलनमा सक्रिय भाग लिन आएको र चन्द्रशेखरको सीआइडी भन्दै बुट र बन्दुकको ब्याट खाएकोमा पनि त्यो बेला गर्वको अनुभूति भयो । कुनै गुनासो रहेन । अझ २०५२ साल पछि शुरु भएको नितान्त हत्याहिँसा, सामन्त मास्ने क्रान्ति ल्याउने देश त हामीले नदेखेको स्वीटजरलैण्ड बन्ने भन्ने कुराले उतै यूरोपियनहरूको एजेण्डा चलाएर विदेशीको आडमा बसेर हामीजस्तालाई भ्रमको भुँवरीमा पारेको रहेछ भन्नेकुरा पछि खुल्दै गएको छ अब लुकेको छैन । कुनै एउटा नाबालक या सिधासाधा नेपाली जनतालाई कम्यूनिष्टहरू पूँजीबादीहरूको बेतुकी शैली, नेपालको माटोसँग यहाँको मौलिकतासँग, यहाँको वास्तविकतासँग र गरिखाने व्यक्ति र समाजसँग घृणा गर्ने पद्दतिबाट शिक्षित प्रशिक्षित गरेकोबाट देशले यो दुर्गती भोगेको हो भन्ने कुरामा अबपनि कसैला दुबिधा हुनुपर्ने छैन होला ।
आफ्ना पाँच दशक बिताउँदै गर्दा बाणिज्यशास्त्र, पत्रकारिता, कानून र राजनीतिशास्त्रको अध्ययन गर्दै आफ्नो नीजि अध्ययन र अनुसन्धान पनि जारी थियो । नेपालको लागि कुन वाद र सिद्धान्तले काम गरिरहेको छ र कसको हितमा गर्दैछ भन्ने पनि अनुसन्धान जारी थियो । कुन पार्टीको के कस्तो नीति रहेको छ ? नेपाललाई वास्तविक रूपमा नेपाल नै बनाउने नीति कसले लिएको छ ? नेपालको मूल रैथाने धर्म, सँस्कृति, परम्परा र मौलिकतामा आधारित राज्यकर्म, देशको राष्ट्रभाषा आदीको बारेमा सबै पार्टीहरूको सारसंग्रह बुझ्ने प्रयास लामो समयसम्म गरें । दुई दशकसम्म कुनै पार्टीको सक्रिय सदस्य नै नरही देशका पार्टीहरूको आचरण हेर्दै गर्दा मैले पाएको एउटा कुरा यो थियो कि नेपालका हरेक पार्टीहरू कम्यूनिष्ट पूँजिवादी मात्रै, थिए । सबैको नीति ब्याख्या जसरी गरेपनि समाजवादको नाउँको वरिपरि नै थिए । त्यस्तो समाजवाद जसको व्याख्या जसलाई जसरी मनलाग्यो त्यसरी नै गर्दा हुन्थ्यो । काट्ने मार्ने वैयक्तिक सम्पत्ति र स्वतन्त्रता खोस्ने, भट्टामा पोल्ने, खिसारेर रुखमा झुण्ड्याएर मार्ने, गरिब किसान मजदुरको नाउँमा आफु र आफ्ना सातपुस्तालाई देश विदेशमा सम्पत्ति थुपार्ने, खाली खुट्टा सिंहदरबारंको राजनीतिमा छिरेर रोयल जिवनशैलीमा बस्ने, सबै समाजवाद र समाजवादीको ब्यवहारिक ब्याख्या भित्र परेको झल्झली देखियो । यो सबै कर्ममा कहिँ कतै नेपाल थिएन । नेपाल सापेक्षता थिएन । नेपाल बनाउन, देशको स्वरूप दिन, देशको सार्वभौमिकता बचाउन, देशको सीमा रक्षा गर्न र नेपाल नेपालीको मात्र हो भन्ने कुरालाई स्थापित गर्न जीवन उत्सर्ग गर्ने हाम्रा इतिहास पुरुषहरू, वीरहरू र तिनीहरूले दिएका अर्ती उपदेश र नीतिहरूको न त सम्मान थियो न त्यसको जगमा बनेका पार्टीहरू नै थिए । यस्तो तन्नम विदेशी दासत्वको सोचमा डुबेर आफ्नै जरो मासेर नेपाल बनाउने सपना बोकेका पार्टीहरूको बोलबालामा नेपाल चलिरहेको देखियो ।
विदेशी प्रतिमानमा बसेर होइन, विदेशीको कलो खाएर होइन, विदेशीहरूको सिद्धान्त बोकेर होइन, विदेशीहरूको एजेण्डा नेपालमा चलाएर होइन, विदेशीहरूको इसारामा उनीहरूको धर्म सँस्कार सँस्कृति भाषा र सभ्यतालाई शिरोधार्य गरेर र चलेर होइन, नेपाल त नेपालको आफ्नो माटोमा आफ्नो इतिहासमा आफ्नो धर्म परम्पराहरू संस्कृति र सभ्यताहरूमा गर्व गर्दै आफैले बनाएको स्वदेशी प्रतिमानमा आधारित रहेर गर्नुपर्छ भन्नेमा कुनै पार्टीहरू नहुँदा नेपालको यो दुर्दशा हुन गएको हो भन्नेमा अब पनि शंका गर्नुपर्छ जस्तो लाग्दैन ।
मैले आफ्नो जीवनको झण्डै ६ दशकको संघार पुग्दै गर्दा देशका झण्डै पाँच दर्जन बढि जिल्ला पुग्ने र त्यहाँ रहेका मजस्तै भुइँमान्छेहरूसँग साक्षात्कार गर्ने गरेको छु । मेरो आफ्नो अनुसन्धानले के कुरा स्पष्ट पारेको छ भने नेपाल आजसम्म क्षतविक्षत भैरहेको, नेपालीको पहिचान नै हराउँदै गएको, अस्थिर हुँदै गएको मुख्य कारण नै नेपाल चलाउनेहरूले नेपाल बिर्सेर नै हो । नेपाल बनाउन खोहि हिँडेन यहाँ त सपना नेपाल इतरका बाँडिए । नेपाल निरपेक्षताका बाँडिए । नेपालको मुल जरो काटेर, नेपाली मौलिकता मासेर, नेपालको आफ्नो कुलधर्म भाषा सँस्कृति प्रति घृणाको बीऊ रोपेर, नेपालको वास्तविक आवश्यकता र नेपालको माटो, भूगोल र गच्छे निरपेक्ष विकासको ढाँचा र नीति लिएर नै नेपालको समृद्धिका सपना बाँडिएको रहेछ । यसकारण नेपाल सधैं अरूको गोटी बन्यो, अस्थिर बन्यो ।
आज संसार आफ्नो देश प्रथम, आफ्नो भाषा सँस्कृति प्रथम, आफ्ना राष्ट्रिय सम्पदा र सम्पत्ति प्रथम, आफ्नो इतिहास प्रथम, आफ्नो मौलिकता प्रथमको नीतिमा हिँड्दै छ । हामी नेपाली र नेपालका राजनीतिक पार्टीहरू भने नेपालको जरो उम्टाएर हामी समृद्ध र विकसित भन्ने भ्रममा कुँदिरहेका छौं । गन्तव्य आफ्नोतिर होइन अरूकोतिर पो छ । आफ्नैलाई तु्च्छ देखाएर, आफ्नो सीप, जाँगर, समाज विकासको पद्धति, समाजिक संरचनामा रहेको खासखास बिशेषतालाई अंगिकार गर्न र त्यसलाई स्थिति गरेर प्रविधिलाई संयोजन गर्दै विकास ढाँचा बनाउन छोडेर लत्याउनतिर लागेका छौं । यहिँबाट नेपाली राजनीतिमा ठूलो गल्ती भएको छ । अझैपनि हामीहरू समाजवादको भूत भ्रममा उफ्रिन छोडेका छैनौं । नेपालसँग र नेपालको हितको लगि कुनै साइनो नभएकाहरूको फोटो खल्तीमा राखेर ढोग्दै उनैका नामको माला जप्न तल्लिन छौं । आफ्नै जरो काटेर देश बनाउने सपना बाँडिरहेका छौं । देशभित्रका अमुल्य सम्पत्ति न चिन्न खोज्यौं न चिन्न दियौं । अरूको हा.हुमा ढुङ्गामुडा बोकेर, पेट्रोल र केमिकल बोकेर, अरूको नीति र सिद्धान्त बोकेर कहिले दक्षिणपन्थी र त कहिले वामपन्थी बन्दै नेपाल निरपेक्ष आन्दोलनको आगो सल्काउन हिँडिरहेका छौं । अब सबैले बुझ्न जरुरी छ यदि देश बचाउने र बनाउने हो भने । देश सबै नेपालीको हो, नेपाली मात्रैको हो, नेपाललाई नेपाल सेन्ट्रिक नीति र आफ्नै वाद र प्रतिमानमा रहेर मात्रै बनाउन सकिन्छ भन्ने कुरामा लागौं । आफ्नै जरो मासेर देश बन्दैन ।