नेपालगन्जलाई महानगरको गतिमा अगाडी बढाउन चलायनमान सहरका रुपमा स्थापित गर्नुपर्ने कुरा औल्याइएको छ । बुधवार नेपालगन्जमा आयोजना गरिएको एउटा छलफलमा सहभागी नेपालगन्जका अगुवाहरुले त्यसका लागि सामुहिक पहल र प्रयासमा जोड दिइएको हो ।
धारा नेपालगन्ज म्याराथनको ११ औं संस्करण नजिकिँदै गर्दा सहरमा यसको महत्व र आवश्यकताबारे पनि बहस भएको छ । म्याराथनको पूर्वसन्ध्यामा आयोजित छलफलमा नेपालगन्जका विभिन्न क्षेत्रका अगुवाहरूले सहरलाई चलायमान बनाउने दीर्घकालीन योजनादेखि खेल–पर्यटनको सम्भावना र नागरिक सहभागितासम्मका विषयमा खुलेर धारणा राखे । उनीहरूको आवाजमा एकता, अपनत्व र साझा जिम्मेवारीको भावना स्पष्ट सुनियो, जसले म्याराथनलाई केवल खेल मात्र नभई नेपालगन्जको पहिचानको केन्द्रबिन्दुका रूपमा स्थापित गरिरहेको संकेत गर्छ ।
त्यसअघि गरिने नेपालगन्ज कन्क्लेभले गर्ने बहसबाट विकासको खाका कोर्न सहयोग पुग्ने विश्वास सहभागीहरुको थियो ।
दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले सहजीकरण गरेको छलफलको अध्यक्षता गरिरहेका नेपालगन्जका पूर्वमेयर विजय गुप्ताले नेपालगन्जको ऐतिहासिक र सांस्कृतिक गहनता उल्लेख गर्दै सहरलाई ‘नेपालको गेटवे’ को रूपमा अघि बढाउन दृढतापूर्वक सुझाव दिए । उनले देशकै नामबाट स्थापित नेपालकै एकमात्र ऐतिहासिक सहर नेपालगन्जको विकासमा आर्थिक सन्तुलन र दीर्घदृष्टिको अभावले चुनौती थपेको बताए । तर, अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको समाचारले नेपालगन्जको भविष्य अर्कै मोडतर्फ फर्किन लागेको उनले बताए । आफ्नो कार्यकालमा त्यसको विजारोपण गरेको स्मरण गुप्ताले गरे ।
कार्यक्रमको संयोजन गरेका नाट्टा बाँके च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले भने, ‘व्यवसाय, पहिचान र नागरिक भूमिकाबारे पूर्व नगरप्रमुख गुप्ताले उठाएका मुद्दाले सहरलाई समग्ररूपमै सक्रिय बनाउन सबै क्षेत्र एकजुट हुनुपर्ने आवश्यकता प्रस्ट्यायो ।’ पर्यटन अभियन्ता सिग्देलले नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको म्याराथन भइरहँदा सबै नागरिकले अपनत्व महसुस गरि स्वामित्व लिउन भन्ने उद्देश्यले कार्यक्रम राखिएको बताए ।
छलफलमा पर्यटन क्षेत्र, खेलकुद र व्यवसायसँग जोडिएका सहभागीहरू पनि उत्तिकै सकारात्मक थिए । नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले म्याराथनले बाह्य पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको बताए । आगन्तुकलाई राम्रो स्वागत, व्यवस्थित सेवा र शहरको पहिचान देखाउने काम पर्यटनले मात्र होइन, स्थानीयले आफैंले गर्नुपर्ने बताउँदै उनले राँझा विमानस्थलमै स्वागतसहितको सन्देश राख्न लागेको जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र महासचिव भीमहादुर रानाभाटले सघंको सहभागिता नेपालगन्ज हरेक सकारात्मक अभियानसँगै रहने बताए । म्याराथनले आन्तरिक अर्थतन्त्रमा ल्याएको प्रभावबारे चर्चा गर्दै यसले देश–विदेशबाट आउने पाहुनाले शहर चलायमान बनाउने उनीहरुको बुझाइ छ । अध्यक्ष धामीका अनुसार, संघले म्याराथन अवधिभर नेपालगन्जमा किनमेल गर्नेहरुका लागि कम्तिमा १० प्रतिशत छुट दिन आव्हान गरेको भने, प्रचारप्रसारमा योगदान दिने भएको छ ।
एयर कनेक्टिभिटीका विभिन्न पहलले पनि नेपालगन्जलाई देशको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गरिरहेको बताउँदै अध्यक्ष धामीले यस्ता अभियानहरूलाई ‘व्यक्तिगत’ नभई ‘साझा अभियान’ को रूपमा लिनुपर्ने जोड दिए ।
संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जलाई सुस्त सहर भनेर बुझ्ने धारणालाई गलत सावित गर्न विभिन्न कार्यक्रम सफल भएको उल्लेख गरे । उनका अनुसार म्याराथन, खेलकुद, सांस्कृतिक गतिविधि र फूड फेस्टिभलले शहरको जीवन्तता प्रस्टै देखाइरहेका छन् ।
उद्योगपति सञ्जय अग्रवालले म्याराथनलाई उत्सवको रूपमा स्वीकार गर्दै यसले नेपालगन्जमा उत्साह, सक्रियता र एकताको भावनालाई पुनर्जीवित गरेको बताए ।
होटेल व्यवसायी संघका अध्यक्ष भीमलाल कडेलले बारम्बार प्रयोग हुँदै आएको ‘अचेतको सहर’ भन्ने कुरा अब अस्वीकारयोग्य भएको बताए । उनका अनुसार, खेल, शिक्षा, स्वास्थ्य र पर्यटन हेर्दा नेपालगन्ज उठिरहेको, परिवर्तनको बाटोमा अघि बढिरहेको सहर हो । व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता कार्यक्रमले आर्थिक गतिविधिलाई चालना दिन सञ्चालनकर्ताहरू दिगो योजनासहित अघि बढ्नुपर्नेमा अध्यक्ष कडेलले जोड दिए ।
त्यस्तै पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्ज म्याराथनले शहरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए । उनले पूर्वाधारका केही चुनौती भए पनि मनले साथ दिए सबै सम्भव हुने धारणा राखे ।
प्राध्यापक सुरेन्द्र सिंह, सशस्त्र प्रहरी अधिकृत शंकर सिंह, वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर यादव, बालअधिकारकर्मी साहिल अन्सारी, लेखक साहिदा शाह, शैक्षिक उद्यमी सञ्जय सिंहले बताए । पूर्ववडाध्यक्ष सुनिल सिंह हमाल, लायन्स लिडर मीना ढकाल, फरिदूल हक, नुरुल राई, दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरीलगायतले खुलेरै नेपालगन्जको दीर्घकालीन विकास र प्रगतिका लागि गर्नुपर्ने पहल र प्रयासबारे धारणा राखेका थिए ।
छलफलको अन्त्यसम्म सबैको धारणा एउटै बुँदामा आएर ठहरियो—नेपालगन्ज म्याराथन जस्ता आयोजनाहरुलाई नेपालगन्जको पहिचानका रुपमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्छ । नेपालगन्जलाई इभेन्टमय बनाउदै अझ सशक्त र दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय तह, व्यवसायी, संस्थाहरू, खेलकुद क्षेत्र, युवा र नागरिक सबैको सहभागिता अपरिहार्य छ । ‘संघीयतापछिको परिवर्तनको घुम्तीमा उभिएको नेपालगन्जलाई सक्रिय, चलायमान र आकर्षक महानगरका रूपमा रूपान्तरण गर्न यस्ता अभियानले ठूलो भूमिका खेल्ने सहभागीहरूको बुझाइ रह्यो,’ कार्यक्रम संयोजक सिग्देलले भने ।
‘नेपालगन्ज अब केवल ‘अचेतको सहर’ होइन, सम्भावनाले धडकिरहेको, दौडिरहेको र भविष्य तर्फ गतिशील रूपमा अघि बढिरहेको शहर हो,’ कार्यक्रममा खेल, पर्यटन र यससँग जोडिएका सम्भावनाबारे बोल्दै खेलकुद विकास परिषद् लुम्बिनीका पूर्व सदस्य सचिव भिम ओलीले भने, ‘यही भावनासहित ११औँ नेपालगन्ज म्याराथनका लागि सहर तयार हुँदैछ ।’ आयोजनाका विविध आयामबारे नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले प्रकाश पारेका थिए ।






























