देशकै पुरानोमध्येको एक सहर नेपालगन्जमा विचार–मन्थनको सिलसिला निरन्तर छ । यसैको नयाँ स्वरूप नेपालगन्ज कनक्लेव हो । हामीले २०७३ सालमा नेपालगन्ज लिटरेचर फेस्टिबल गरेका थियौं । त्यसैको निरन्तरताका रूपमा डिस्कोर्सको पाँचौ श्रृंखला मंसिर ५ गते शुक्रबार हुँदैछ । यसलाई हामीले स्थानीयदेखि राष्ट्रिय मुद्दाहरूको बहस हुने प्लेटफर्म ठानेका छौं । नयाँ विचार निर्माणको माध्यम मानेका छौं ।
यसवर्ष कस्ता विषयबस्तुमा बहस हुँदैछ ?
नेपालगन्ज कनक्लेवमा यसवर्ष आर्थिक, सामाजिक, राजनीति, खेलकुद्देखि कलासम्बन्धी सेसनहरू संचालन हुने छ । हरेक चुनावमा नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक राजधानी बनाउने नारा जोडतोडले लगाइन्छ । चुनावपछि यो मुद्दा त्यसै सेलाउँछ । मुलुक संघियतामा गएपछि साबिक मध्य तथा सुदूरपश्चिमको केन्द्र नेपालगन्ज ओझेलमा परेको धेरैको अनुभव छ । देशकै पुरानो औधोगिक सहर, पर्यटनको ट्रान्जिट सहर त्यसरी ओझेलमा पर्नुपर्ने होइन् । प्रदेशको राजधानी नहुँदैमा नेपालगन्ज पछाडि पर्ने कुरा हुँदैन् । यसले नयाँ संभावना खोज्नुपर्छ भन्ने कोणबाट यसपटक कनक्लेवमा बहस हुनेछ । त्यस्तै, जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसरबारे अर्को सेसन छ । खासगरी २३–२४ भदौंको जेनजी विद्रोह र सँगै भएका विध्वंसले मुलुक कता जाँदैछ भन्ने अन्योल सिर्जना गरेको छ । सँगै, युवा पुस्ताले आफ्नो काँधमा जिम्मेवारी आएको महसुस गरेको पनि देखिन्छ । त्यस हिसाबले यसमा मसिनो छलफल गर्नुपर्ने छ । बरिष्ठ अभिनेता राजेश हमालसँगको संवाददेखि साइबर दुनियाले फड्को मार्दा त्यसको सदुपयोग कसरी गर्ने भन्नेमा पनि छुट्टै प्रस्तुती हुनेछ । कनक्लेवको वार्मअपमा पनि नेपालगन्जको महानगर सपनाबारे एउटा सेसन तय गरिएको छ भने अर्को खेलकुद्ले राष्ट्रलाई कसरी एकताबद्ध बनाएको छ भन्नेमा पनि छलफल गर्नेछौं ।
यसवर्षको अर्को आकर्षण भनेको स्थापित पब्लिकेसन्स फाइन प्रिन्टको घुम्ती साहित्य मेला पनि जोडिएको छ । फाइनप्रिन्ट फिबर पनि नेपालगन्ज कनक्लेभसँगै हुनेछ ।
कनक्लेवबाट के नतिजा निकाल्दै हुनुहुन्छ ? यसले नेपालगन्ज र सिंगो लुम्बिनीलाई के फाइदा हुन्छ ?
कनक्लेव निरन्तर बहसको माध्यम मात्र हो । यहाँ स्थानीयदेखि प्रादेशिक र राष्ट्रिय मुद्दामाथि डिस्कोर्स हुन्छ । विषयविज्ञका विचार सुन्ने, आफ्ना तर्क राख्ने र मुद्दालाई उजागर गर्न यस्ता कनक्लेव उपयोगी हुन्छ । अहिलेको अन्योलग्रस्त परिस्थितिमा मुलुकलाई नयाँ दिशाबोध गराउन पनि यस्ता छलफल महत्वपूर्ण हुन्छन् भन्ने हामी ठान्छौं । अर्को कुरा भनेको एउटा जिवन्त र गतिशिल सहरका लागि बहस, छलफल र संवाद जरुरी छ । पश्चिमको अगुवा सहर भएको नाताले नेपालगन्जले त्यो दायित्व लिनु पर्छ । हामीले त्यसैको पहल गरेको हो । डिस्कोर्सको संस्कृति विकास गर्न पनि यो महत्वपूर्ण छ । यसले नेपालगन्ज, लुम्बिनी प्रदेश मात्र हैन, सिंगो देशकै लागि विचार निर्माणमा मद्दत पुग्ने हाम्रो विश्वास छ ।
कनक्लेवको प्राथमिकता के हो ?
नेपालगन्ज कनक्लेवको मुख्य प्राथमिकता आर्थिक सामाजिक मुद्दामा केन्द्रीत छ । युवा उद्यमी मञ्च पनि यसको साझेदार छ । नेपालगन्ज म्याराथनसँग जोडिएर हरेक वर्ष मंसिर पहिलो साता हामी कनक्लेव गर्दैआएका छौं । त्यसैले खेलकुद्लाई महत्व दिइने देशकै एक मात्र कनक्लेव पनि हो । अर्को, नेपालगन्जको शान्ति बेलाबेलामा असामाजिक तत्वले खल्बल्याउन खोजे पनि यो मुलतः सद्भावको सहर हो । किनभने, सिंगो देशको प्रतिनिधित्व हुनेगरी धार्मिक, जातिय र सामुदायिक विविधता यसको विशेषता हो । त्यही विविधतामा एकताको सहर हो नेपालगन्ज । त्यस अर्थमा कनक्लेवको अर्को प्राथमिकता सामाजिक सद्भाव र एकता हो । हामी विविध विचारमा मन्थन गर्ने, कला, साहित्य, खेलकुद्मार्फत समाज र सिंगो देशलाई जोड्ने कुरामा विश्वास गछौं ।
बहसका निष्कर्ष के हुन्छन् ? गत वर्ष निकालिएका निचोड कतै कार्यान्वयन भए त ?
हेर्नुस्, यो निरन्तर प्रक्रिया पनि हो । हामीकहाँ अझै पढ्ने, लेख्ने, सुन्ने, बहस गर्ने, विचार मन्थन गर्ने संस्कृतिको विकास हुन सकेको छैन । त्यसअर्थमा हामी सुरुवाती चरणमै छौं । कनक्लेवका विषयबस्तु, मुद्दा र निचोड सरोकारवाला निकायमा पक्कै पुग्छ । आमसञ्चारमाध्यममार्फत पनि त्यो पुगेको छ । विषयविज्ञ र सरकारी प्रतिनिधिमार्फत पनि पुग्छ । मुद्दाको उजागर हुन्छ । यो विषय कहाँ पुग्यो भनेर फाइल बोकेर हामी हिड्दैनौं । त्यो जिम्मेवारी सम्बद्ध अर्को सरोकारवालाको हो भन्ने ठान्छौं । यसबर्षदेखि बहस छलफललाई राम्रो दस्तावेजीकरण गर्ने योजना छ ।
बहसका लागि समय अपर्याप्त भयो भन्ने लाग्दैन ?
पक्कै पनि । एक घण्टामा गम्भीर विषयको बहस पक्कै निष्कर्षमा पुग्न सक्दैन् । तर, यी सेसनले बहसलाई नयाँ धरातलमा ल्याउन मद्दत पक्कै पुग्छ । गत वर्ष दुई दिने कनक्लेव राखेका थियौं । तर, बदलिएको परिस्थितिले यसवर्ष केही खुम्याउनुपरेको साँचो हो । बहस, छलफललाई एउटै बसाईमा टुंग्याउनुपर्छ भन्ने पनि हुँदैन् । यो निरन्तर प्रक्रिया हो, डिस्कोर्स चलिरहनुपर्छ ।
यसले नीतिगत प्रभाव पार्छ त ?
हाम्रो अपेक्षा त्यो हो । छलफलको संस्कृति विकास गर्ने, तर्क र तथ्यका आधारमा विचार निर्माण गर्ने मात्र होइन्, राष्ट्रको नीति सुधारमा समेत यस्ता बहसले योगदान गर्नसक्छन्, गरेका छन् भन्ने हामी ठान्छौं । यसलाई अझ प्रभावकारी बनाउन कनक्लेव मात्र होइन् अरू धेरै प्लेटफर्म चाहिन्छ । हामीले स्वस्थ विचार विमर्शको संस्कृति विकास गर्नु पर्छ ।
युवा उद्यमीसँगको साझेदारीको अर्थ के हो ?
हामी मुलुकको अर्थसामाजिक विकासलाई उच्च महत्व दिन्छौं । हामी युवा शक्तिमा विश्वास गछौं । उत्पादनमा विश्वास गर्ने उद्यमी हातहरू नै राष्ट्रनिर्माणका साझेदार हुन् । नेपालगन्ज म्याराथन भन्नुस् वा कनक्लेभ हामीले सुरुदेखि नै एउटा नारालाई महत्वका साथ उठाउँदै आएका छौं–शान्ति, सद्भाव र एकताः राष्ट्रनिर्माणमा हाम्रो प्रतिबद्धता । त्यो नारालाई सार्थक बनाउन पनि नेपालगन्ज कनक्लेवले युवापुस्तासँग हातेमाले गरेको हो । जसरी खेलकुद्मा युवा पुस्ता जोडिन्छ, त्यसैगरी कनक्लेवमा पनि युवाहरूको साथ, सहयोग र साझेदारी छ ।
अन्त्यमा, कनक्लेवलाई धारा नेपालगन्ज म्याराथनकै पूर्वसन्ध्या आयोजना गर्नुको अर्थ के हो ? यो म्याराथनको पुरक कार्यक्रम हो ?
नेपालगन्ज म्याराथन हाम्रो सहरको ब्राण्ड भइसकेको छ । नेपालगन्ज अब म्याराथनको सहरले चिनिन थालेको छ । हामी म्याराथनसँगै डिस्कोर्सको शृंखला पनि अघि बढाउन चाहन्छौं । हामीले २०१५ मा नेपालगन्ज म्याराथन सुरु गर्दा पनि सँगै बहुभाषिक सांस्कृतिक कार्यक्रम पनि संचालन गरेका थियौं । एकैपटक डिस्कोर्स, साहित्य, खेलकुद्को उत्सव मनाउन चाहन्छौं । त्यसअर्थमा पनि हामी यी इभेन्टलाई सँगसँगै संचालन गर्दैआएका छौं । आयोजक टिम, साझेदार र सिंगो सहरको सद्भावले यी दुवै सँगसँगै छन्, संगसँगै अघि बढ्छन् । मंसिरको पहिलो साता नेपालगन्ज उत्सवमय भइरहने छ ।






























