राजधानी त्रिपोलीबाट करिब ४० किलोमिटर पश्चिममा रहेको जाविया सहरमा शुक्रबार राति लिबियाका सशस्त्र समूहहरूबीच भिडन्त भएको सुरक्षा अधिकारीले बताएका छन् । सहरको सुरक्षा निर्देशनालय स्रोतले जाविया सहरको दक्षिणी क्षेत्रहरूमा हिजो रातीदेखि सशस्त्र समूहहरू बीच झडप भइरहेको जनाएको छ । सन् २०११ मा लामो समयसम्म लिवियामा शासन गरेका शासक मोहमर गद्दाफीलाई सत्ताच्युत गरेपछि लिबिया अझै पनि वर्षौंको युद्ध र अराजकताबाट बाहिर आउन सङ्घर्ष गरिरहेको छ ।
सञ्चारमाध्यमका अनुसार लडाइँमा कैयौँ हताहत भएको बताइएको छ, तर त्रिपोलीका अधिकारीहरूले यसको अझै पुष्टि गरेका छैनन् । त्रिपोलीस्थित स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा सहरका केही भागहरू खाली गर्ने र घाइतेहरूलाई अस्पताल लैजाने काम गरिरहेको उल्लेख गरेको छ । लिबियाको रेड क्रिसेन्टले झगडाबाट प्रभावित क्षेत्रबाट केही परिवारलाई बाहिर निकालेको बताएका छन् तर उनीहरूले झगडाको कारण भने खुलाएका छैनन् । सामाजिक सञ्जालमा शुक्रबार रातिदेखि साझा गरिएका भिडियोहरूमा सशस्त्र व्यक्तिहरूले अन्य सशस्त्र समूहहरूमा भारी गोली हानेको देखाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक केही भिडियोमा सहरका केही भागहरूबाट धुवाँ निस्किएको देखाइएको छ ।
गत महिना, राजधानी त्रिपोलीमा भएको झडपले मुस्लिम धर्मावलम्बीहरूको रमजानको उपवास महिनाको अन्त्यको उत्सव मनाउने स्थानीयहरूमा त्रास फैलाएको थियो । अगस्ट सन् २०२३ मा त्रिपोलीको एक वर्षमा दुई शक्तिशाली समूहहरूको सशस्त्र झडपमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त सरकार लिबियाको त्रिपोली क्षेत्र र पूर्वमा प्रतिद्वन्द्वी विद्रोही समूहले शासन गर्दै आएका छन् ।