बाँके युनेस्को क्लबले विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन बाँके र बर्दियामा ‘तातो हावा परियोजना’ सुरु गरेको जनाएको छ ।
स्टार्ट फण्ड नेपालको सहयोगमा बाँके युनेस्को क्लब र कतार च्यारिटीले ४५ दिने परियोजना संचालन गरेका हुन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र बर्दियाको गुलरिया नगरपालिकामा ४५ दिने परियोजना सुरु भएको क्लबले जनाएको छ ।
१७ मे २०२४ देखि सुरु भएको तातो हावा परियोजना १ जुलाई २०२४ सम्म लागू हुने जानकारी दिंदै आइतवार बाँके युनेस्को क्लबका परियोजना प्रमुख साजिद अली सिद्दिकीले अत्याधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगिन सामाजिक सचेतना जगाउन परियोजना संचालन गरिएको बताए ।
सिद्दिकीका अनुसार, अपांगता, दलित, सीमान्तकृत, विपन्न, एकल महिला, अपांगता भएका व्यक्ति भएको परिवार, गर्भवती महिला र दूध चुसाउने आमालाई लक्षित गरी परियोजना संचालन गरिएको हो ।
बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान तथा समुदायस्तरमा अति विपन्न र जोखिममा रहेका परिवारलाई खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिने बाँके युनेस्को क्लबकी विनिता आरसीले जानकारी दिइन् । विद्यालय र घरधुरी छनोट गरेर विभिन्न क्रियाकलाप संचालन गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा संचालन गरिने क्रियाकलापका बारेमा जानकारी दिन आइतवार गरिएको छलफलमा परियोजना प्रमुख सिद्दिकीले छात्रा बढी भएका दुई वटा विद्यालय छनौट गर्ने, ५०० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर प्रदान गर्ने, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान लगायतका क्रियाकलाप संचालन गर्ने जानकारी दिए । स्थानीय सरकार र सरोकारवालाबीच समन्वय वैठक र परियोजना सम्बन्धि जानकारी तथा छलफल कार्यक्रममा विपन्न ३०० परिवार छनौट गरी खाद्यान्न सहयोग, छाता, गमछा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि संचालन गरिने जानकारी दिइएको छ ।
नगर शिक्षा प्रमुख गोर्ख बहादुर थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंह, रेडक्रस बाँकेका प्रमुख दोलख डाँगी, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख प्रकाश डिसी, विपद् व्यवस्थापन सूचना अधिकृत रूपन ज्ञवालीले परियोजनाका विभिन्न पक्षमा सुझाव दिएका थिए ।