पछिल्लो पाँच सय बर्षदेखि पश्चिम क्षेत्रमा ठूलो भुकम्प गएको छैन । त्यसले गर्दा भुकम्पविद्हरूले पश्चिम क्षेत्र बढी जोखिममा छ भनेका छन् । नेपालगन्ज पुरानो र अव्यवस्थित भएका कारणले बढी जोखिममा छ भनेर भनिएको हो । पश्चिम क्षेत्र नै बढी जोखिममा हो र नेपालगन्जमा हामीले काम गरेको भएर नेपालगन्ज बढी जोखिममा छ भनेर बझ्नु पर्छ होला । भुकम्पले क्षति भन्दा पनि भुकम्पबाट जोगिन हाम्रा संरचनाहरू बलियो र भरपर्दो नबनाउँदा बढी जोखिम भयो भन्ने हामी बुझ्न सक्छौं ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले के गरिरहेको छ ?
सुपरले भुकम्प र सहरी विपद् सम्बन्धी कार्यक्रम गरेको हो । भुकम्प आइसकेपछि त्यसबाट जोगिने उपायहरू, योजनाहरू निर्माण गर्ने कुराहरू र समुदाय स्तरमा सचेतना फैलाउन जनचेतनामूलक गतिविधिहरू गरिरहेका छौं ।
र, नेपालगन्जका घर तथा भौतिक पूर्वाधारहरूका सर्वेक्षण गरेर के कति घरहरू जोखिममा छन्, कुन अवस्थामा छन्, जोखिम पत्ता लगाउने बारेमा अध्ययन गर्ने, स्रोत साधन पत्ता लगाउने, नेपालगन्ज पश्चिम क्षेत्रकै हब भएका कारणले ठूलो भुकम्प जाँदा यहाँबाट सप्लाई गर्नुपर्ने, विभिन्न माग पूरा गर्नुपर्ने भएकाले निजी क्षेत्र, सरोकारवालाहरूसँग विपद् व्यवस्थापनका सन्दर्भमा विभिन्न कार्य गर्दै आएका छौं । त्यसका लागि आवश्यक नीति निर्माणमा सहयोग गरेका छौं, कार्यक्रमहरू सहयोग गर्दै आएका छौं । विपद् जोखिममा सुपरको कार्यक्रमहरूले निकै सहयोग गर्दै आएको छ ।
पूर्व तयारीले जोखिमलाई कम गर्छ ?
विपद् व्यवस्थापन भनेको विपद् भैसकेपछि त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने हो । त्यसका लागि पूर्व तयारीमै बढी जोड गर्नुपर्छ । जाजरकोट भुकम्पलाई हेर्ने हो भनेपछि राहत व्यवस्थापन, खोज तथा उद्दारका कुराहरू, घाइतेको उपचार, समन्वय गर्ने कार्यहरू पनि गरेका छौं । ठूलो भुकम्प जाँदा नेपालगन्जले सहयोग गर्नुपर्ने हुन्छ, आफ्नो ठाउँका लागि मात्रै नभएर अन्य जिल्ला तथा क्षेत्रहरूका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले यसको महत्व अझ बढी छ ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । त्यसका लागि हाम्रा संरचना बलियो बनाउनु पर्ने, नीति गत निर्णय गर्नुपर्ने हुन्छ । घर निर्माण गर्दा पनि भुकम्प प्रतिरोधी बनाउनु पर्छ । बनिसकेका भवन, संरचनाहरूलाई पनि अझ बलियो बनाउन रेक्ट्रोफिटिङका कार्यहरू गरेका छौं, नमूनाका रूपमा ।
सुझाव के हो सरोकारवाला निकायलाई
भुकम्पको दृष्टिकोणले नेपाल धेरै जोखिममा हो । त्यसमा पनि पश्चिम अझ जोखिममा रहेको क्षेत्र हो । पाँच सय बर्षमा ठूलो भुकम्प पश्चिममा नआइरहेको अवस्थामा अझ ठूलो भुकम्प जान सक्छ भुकम्पविद्ले भन्दै आउनु भएको छ, त्यसको वैज्ञानिक आधार पनि छ । त्यसैले हामी त्यसको तयारीमा रहनु पर्छ । त्यसका लागि स्थानीय तहले योजना बनाउने, आफुले बनाउने संरचना भुकम्प प्रतिरोधी बनाउने, आफ्नो नीतिगत योजना बनाउँदा विपद् व्यवस्थापनमा जोगिन सक्ने र हामीले गरेको विकास, निर्माण पनि विपद् न्यूनीकरणका लागि सोच्नु पर्ने देखिन्छ । स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरणमा अझ बढी ध्यान दिनुपर्छ ।