बाँकेमा विपद्बाट एक लाख ५० हजार प्रभावित हुने पूर्वानुमान

जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेको शुक्रबार भएको बैठकले विपद् पूर्व तयारी लगायतका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतमा सरोकारवाला सम्मिलित बैठकले सम्भावित विपद् र क्षतिको पूर्वानुमान गर्दै पूर्वतयारी तथा यसअघिको भएका क्षतिको क्षतिपूर्तिको निर्णय गरेको हो ।

बैठकमा बाँकेमा यस बर्ष सबैखालका विपद्बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरिंदै त्यसका आधारमा तयार भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई बैठकमा प्राप्त सुझावहरूका आधारमा थप परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरिएको थियो । साथै, यस योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको हो ।

बैठकले स्थानीय तहलाई विपद् विरुद्ध पूर्व तयारीमा राख्न सबै स्थानीय तहहरूले अविलम्ब आ–आफ्नो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय गरेको छ ।

बैठकले यस वर्षको मनसून सुरु हुने अवस्थामा रहेकोले मनसूनजन्य विपद्बाट प्रभावित हुनसक्ने १५ हजार परिवारको पूर्वानुमानका आधारमा बाँके जिल्लाले तयार पारेको मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ लाई अनुमोदन गरेको छ ।

मनसूनजन्य विपद्का घटनाहरूमा प्रभावकारी प्रतिकार्यका लागि योजनाहरूको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आगामी आइतबार विश्व बातावरण दिवसको अवसरमा नेपालगन्ज–१ वाटरपार्कमा नेपाली सेनाको अगुवाईमा बाढीजन्य विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्ने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका सबै सुरक्षा निकायहरू, रेडक्रस, विषयगत कार्यालयहरू लगायत सबै सरोकारवालाको समन्वय गरिने भएको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरूलाई अझै बढी सक्रिय र चलायमान बनाउने तथा सम्भावित विपद्का घटनाहरूका विषयमा आम सर्वसाधारणलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । जानकी र बैजनाथ गाँउपालिकालाई अविलम्ब स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी कार्य गर्न अनुरोध गर्ने निर्णय गरेको विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।

बैठकमा गर्मीयामसँगै बाँके जिल्लामा आगलागी तथा लू प्रतिकार्य बारेमा छलफल गरिएको थियो । ‘गर्मीयाममा हुनसक्ने आगलागी, डढेलो तथा लूको प्रभावबाट जोगिन सबै सरोकारवालाहरूलाई थप प्रभावकारी बनाउन निर्देशन दिने । आगलागी, डढेलो, हावाहुरी, लूबाट जोगिन कार्ययोजना अनुरूपका गतिविधिलाई निरन्तरता दिने’ निर्णय बैठकले गरेको हो ।

बैठकले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, आ–आफ्नो क्षेत्रभित्र विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने र बाढी केन्द्रित कृत्रिम घटना अभ्यास गर्ने , विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा(क्ष्च्ब्) र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरू निषेध गर्ने निर्णय पनि गरेको छ ।

Exit mobile version