विषादी सेवन गराई लुट्ने पक्राउ

बाँके प्रहरीले विषादी सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर स्थित एक होटल बास बस्ने बहानामा बसेकाले खाद्य पदार्थमा विषादी सेवन गराई लुटपाट गर्ने प्रयास गरेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार, गत असोज १२ गते कोहलपुर–११ नयाँ बसपार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहानामा आई होटेल संचालक पार्वती उपाध्यायलाई आमा नाता लगाई विश्वास जितेर असोज १५ गते राती ११ बजे पार्वती उपाध्याय र निजका २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाई बेहोस गराई लुटपाट भएको घटनामा प्रहरीले दोषीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, होटल सञ्चालकको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको नगद रु. ३० हजार बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेको घटनामा प्रहरीले बिस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।

घटना अनुसन्धानका क्रममा कार्तिक १ गते पोखरा महानगरपालिका वडा नं. १३ अमलाचौर स्थित सन्जु कोइरालालाई निजको आफ्नै घर कोठाबाट र देवघाट गाउँपालिका वडा नं. ५ क्षेत्रीटोलबाट कालु परियारलाई असोज ३० गते प्रहरीले चोरी भएको मालसामान सहित पक्राउ गरेको हो ।

Exit mobile version