मानिसहरू विभिन्न कारणले आफ्नै ज्यान लिन अग्रसर हुने गरेका छन् । बाँकेमा मात्रै चालु आ.व.मा ८८ जनाले आफैले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चिन्ता व्यक्त गरे । अघिल्लो आ.व. ०७९÷८० मा बाँकेमा १ सय ४१ जनाले आफैले आफ्नो ज्यान लिएका थिए भने आ.व. ०७८÷०७९ मा ५८ जनाले विभिन्न उमेर समूह, जाति, धर्म, लिङ्गका व्यक्तिले आफ्नै जीवन समाप्त गरेको डाँगीले बताए ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्रकारहरूका लागि सञ्चारकर्मीलाई आत्महत्या रिपोर्टिङ्ग सम्बन्धी शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यशाला आत्महत्याका घटना न्यूनीकरणका लागि प्रहरीले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।
‘अनाहक जाने जीवन जोगाउन सकिन्छ’, कार्यक्रममा सहभागी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रतिनिधि तथा बाँकेका स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तित्व तथा सञ्चारकर्मीहरूले धारणा राख्दै भने । कार्यक्रममा सहभागी वक्ताहरूले मानिसहरू विभिन्न कारणले आफ्नो जीवन समाप्त गर्ने क्षणिक निर्णय गर्ने र त्यसअघि विभिन्न व्यवहार देखाउने बताए । उनीहरूले त्यस्ता व्यवहारको पहिचान गरी परामर्श र उपचारमा लागे अनाहक आफैले ज्यान लिने अप्रिय घटनामा कमी आउने बताए ।
कार्यक्रममा बोल्दै आफैले आफ्नो जीवन समाप्त गर्ने घटनाका विभिन्न कारण रहेपनि अधिकांसमा मानसिक समस्या हुने गरेको कार्यक्रममा सहभागी चिकित्सकले बताए । क्षणिक आवेश, आर्थिक अभाव, घरायसी झगडा, लागुऔषध सेवन लगायतका कारणले मानिसहरूले आत्महत्या गर्ने भएकाले त्यस्ता व्यक्तिहरूले देखाउने पूर्व लक्षणबारे चनाखो भई उनीहरूलाई परामर्श र उपचार विधि आवश्यक रहेको सहभागीले बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले ‘अनवान्टेड डेथ’ घटाउन सरोकारवाला सबैले आफ्नो भूमिका निर्वाह
गरे न्यूनीकरण गर्न सकिने बताएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बढ्दो आत्महत्याका घटना चिन्ताजनक रहेको बताए । उनले आत्महत्या गर्ने कार्य एउटा रोग भएकाले त्यसलाई मनोसामाजिक परामर्शबाट न्यूनीकरण गर्न सकिने धारणा राखे । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्माले सञ्चारकर्मीको भूमिका आत्महत्याका घटना न्यूनीकरणमा सचेतनामा फैलाउन महत्वपूर्ण रहेको बताए ।
भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दिनेश चौधरीले सकारात्मक समाचार प्रवाहले आत्महत्या न्यूनीकरणमा प्रोत्साहन हुने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले मानसिक तनाव व्यवस्थापन गर्न सकिने विषय भएकाले त्यस तर्फ ध्यान जानु पर्ने बताए । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त बहादुर केसीले सञ्चारमाध्यमले आत्महत्या सम्बन्धी समाचार प्रकाशन गर्दा निरुत्साहन हुने तथा त्यस्ता घटना नदोहोरिउनु भनेर परामर्श तथा उपचारका लागि सम्पर्क गर्न उपचार तथा परामर्श सम्बन्धी विषयहरू पनि समाचारमै समावेश गर्दा उपयुक्त हुने धारणा राखे ।
भेरी अस्पतालका चिकित्सक डा. लिला देवकोटाले मानसिक समस्या, आत्महत्याका घटना र जोगाउनका लागि सरोकारवालाले खेल्न सक्ने भूमिका बारे बताएकी थिइन् ।