देशमा आजः ८ बजे ८ खबर

१. नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

२. नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

३. नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ ।

४. डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा शुक्रबार एक घण्टा उडान अवरुद्ध भएको छ ।

६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औँ समूहको दीक्षान्त समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताए ।

७. बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको हो ।

८. नेपाल सरकारको निरन्तरको प्रयासपछि संखवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ ।

Exit mobile version