देशमा आजः ८ बजे ८ खबर

१. नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।

२. मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

३. नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए ।

४. मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ ।

५. अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

६. कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पर्वतमा आयोजित पत्रकार सम्मेलनमा सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन् ।

७. तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ ।

८. नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृंखलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् ।

Exit mobile version