सरकारले नसर्ने रोगका कारण हुने सामाजिक र आर्थिक भार तथा मानवीय क्षतिलाई कम गर्न उपचार सेवाको पहुँचलाई विस्तार गर्ने लक्ष्य लिइएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बहुक्षेत्रीय कार्ययोजना र रणनीति कार्यान्वयनमा ल्याएको छ । पछिल्लो समय मुटु , पक्षघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, दम जस्ता रोगीको सङ्ख्या बढ्दै गएको जनाइएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले प्राथमिक सेवाद्वारा रोगको प्रभावकारी तथा स्रोतले भ्याउन सक्ने रोकथाम तथा उपचारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । नसर्ने रोगको उपचारमा एकरुपता, समयमै गुणस्तरीय निदान, रोकथाम तथा नियन्त्रणका लागि परामर्श, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच समन्वय तथा स्वास्थ्य सेवामा समतामूलक पहुँच र कार्यदक्षता बढाउने रणनीतिको उद्देश्य रहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुका माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रले नसर्ने रोगका कारण हुने अल्पायु मृत्य सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएका छन् । दिगो विकास लक्ष्यले समेत एक तिहाइ नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका निम्ति सदस्य राष्ट्रले विभिन्न रणनीतिक कार्ययोजना र अवधारणसहित मार्गचित्र कोरेका छन् । त्यस पक्षलाई ध्यान दिँदै नेपाले पनि नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि नीतिगत, रणीतिगत विभिन्न कार्ययोजना अघि सारेको छ । व्यक्तिको अल्पायुमै मृत्य हुने तथा स्वास्थय क्षेत्रमा धेरै धनराशिको खर्च गराउने यी रोगहरु पछिल्लो समय विश्वका प्रमुख महामारीका रुपमा देखापरिरहेको छ । लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने मुटु तथा रक्तनलीका रोग, मिर्गौला, मधुमेह, दीर्घ श्वासप्रश्वास र क्यान्सरलगायत नसर्ने रोगको सूचीमा पर्छन् । मोटोपन, रक्तचाप, रगतमा गुल्कोज, धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग र मद्यपान, अस्वस्थ्य खानपिन, पर्याप्त शारीरिक गतिविधिजस्ता व्यवहारले यी रोग निम्त्याउँछ । नसर्ने रोगकै कारण ७१ प्रतिशत मानिसको मृत्यु हुँदै आएको छ । २१ प्रतिशत भने विभिन्न सरुवा रोगबाट मानिसको ज्यान जाने मन्त्रालयको भनाइ छ । बाँकी दैवीप्रकोप, दुर्घटना र आत्महत्याजस्ता विभिन्न कारणबाट मानिसको ज्यान जाने गर्छ । एक तथ्याङ्कअनुसार १७ प्रतिशत महिला र २९।८ प्रतिशत व्यक्तिले कुनै न कुनै प्रकारको तनाव झेल्नु परेको भए तापनि त्यसमध्ये ९० प्रतिशतले कुनै उपचार नगराउने गरेको सचिव डा पोखरेलले बताउनुभयो । यसैबीच, आगामी सन् २०३० सम्ममा मधुमेहले गर्दा लाग्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ११ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । लगभग ९६।७ प्रतिशत मानिस सिफारिसअनुसार खानुपर्ने सागसब्जी र फलफूल खाँदैनन् । नसर्ने रोगका प्रमुख कारकमा शारीरिक निष्क्रियता, धुम्रपान, मद्यपानको प्रयोग र अस्वस्थ्य खानपान नै हुन् । नसर्ने रोगका लागि मानिसका लागि प्रभावकारी तथा समतामूलक रोकथाम, उपचार तथा हेरचाह भएको जनाइएको छ । मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागाईंले राज्यबाट प्रदान गरिने स्वास्थ्य उपचारसम्बन्धी सेवा र सुविधाबारे अझै धेरैलाई थाहा नभएकाले प्रचारप्रसारको व्यापक आवश्यकता भएको बताउँदै उपलब्ध जनशक्ति र पूर्वाधारको अधिकतम प्रयोग गर्नेमा राज्यको ध्यान जान जरुरी रहेको धारणा राख्नुभयो । समिति सभापति दिलकुमारी थापाले सरकारको नीति कार्यान्वयन गर्ने सिलसिलामा कहीँ कतै समस्या र अड्चन भएमा समिति बाटो फुकाउन हरदम तयार रहेको विश्वास दिलाउनुभयो ।