१. रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०÷८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।
२. प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताएका हुन् ।
३. सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ ।
४. सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को अनियमितताका योजनाकार भएको आरोप लागेका सुनिल र विकल पौडेलले पछिल्लो पाँच वर्षमा घूसबापत मात्रै एक अर्बको सम्पत्ति जोडेको अख्तियारको दाबी छ ।
५. स्थानीय तहको बेरुजु आर्थिक वर्ष (आव) २०७९÷८० मा ३० अर्ब ८३ करोड देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार ७ सय ४६ स्थानीय तहको ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाखको लेखापरीक्षण भएको थियो ।
६. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैंले गर्न सक्ने’ उल्लेख गरिएको छ ।
७. संङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।
८. म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।