अत्याधिक गर्मी बढेपछि बाँके र बर्दियाका विद्यालयमा आज मंगलबारदेखि केही दिनका लागि बिदा दिइने भएको छ । अधिकतम तापक्रम ४० र न्यूनतम तापक्रम नै ३० डिग्री नाघेपछि स्थानीय तहको शिक्षा शाखाले बिद्यालय केही दिन बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि आज देखि १८ गतेसम्म नेपालगन्जका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताएका छन । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नेपालगन्जका विद्यालयमा बिदा दिइएको हो । आज गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।
त्यस्तै, बर्दियामा अत्यधिक गर्मीका तीन पालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको सोमबार बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिए । तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।
बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको संख्या दिन प्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।