‘प्रदेशको बजेट युवामैत्री’

लुम्बिनी प्रदेश सरकारले आगामी बजेट युवा मैत्री बनोस् भन्नेमा आफ्नो सरोकार रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले बताएका छन् । मंगलबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा युवाहरूलाई सम्बोधन गर्दै मन्त्री खत्रीले त्यसका लागि आफु गृह जिल्लाका युवाहरूसँग नीति र छलफलदेखि योजना तर्जुमा प्रक्रियामा युवाहरूको सहभागिता खोजेको बताए ।

लुम्बिनी प्रदेशको आगामी नीति युवामैत्री हुने र युवाले उठान गरेका सवाललाई समेट्ने आश्वासन दिएका मन्त्री खत्रीले युवालाई देशमै सम्भावना छ र यही केही गर्न सकिन्छ भन्ने आशा जगाएर मानसिक रूपमा तयार गर्नुपर्ने बेला आएको बताए । ‘त्यसका लागि लुम्बिनी प्रदेश सरकारले सम्भावनाको खोजी गरेर नीति तथा कार्यक्रम, तद्अनुरूपको बजेट ल्याउने कुरामा म प्रयासरत् छु’, मन्त्री खत्रीले भने ।

मन्त्री खत्रीले गाउँका दुरदराजमा बालबालिका र बृद्धहरू मात्र रहने संस्कृतिको अन्त्य गर्न तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी दिए । बिगत नदेखेका युवाहरूमा नेपालमा केही भएको छैन भन्ने सोँचको विकास भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा युवा मैत्री नीति आउने बताए । उनले आगामी नीति तथा कार्यक्रममा थोरै बिद्यालय धेरै बिद्यार्थीको नीति ल्याउने र थोरै बिद्यार्थी भएका बिद्यालयहरूलाई गाभ्ने गरि कार्यक्रम ल्याइने जानकारी दिए ।

प्रदेश युवा परिषद्, लुम्बिनीले नेपालगन्जमा आयोजना गरेको ‘योजना तर्जुमा प्रक्रियामा युवाको सवाल तथा सहभागिता’ विषयक कार्यशाला उद्घाटन कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले राखेका धारणा ध्यानपूर्वक सुनिरहेका मन्त्री खत्रीले ‘यिनै भावनाहरूको विम्वका रूपमा बजेट आउनेछ ।’ उनले त्यसका लागि आफु क्याबिनेटमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश युवा परिषद्ले यही २२ गते हुने प्रदेश सरकारको नीति तथा कार्यक्रममा आफ्नो सहभागिताका लागि नेपालगन्जमा कार्यशाला गरेर सवालहरू उठान गर्न खाजेको हो ।

कार्यशालामा प्रदेश युवा परिषद, लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्री, सदस्य रिया क्षेत्री, जिल्ला युवा समिति बाँकेका अध्यक्ष खेमराज शर्मा, गैसस महासंघ बाँकेका कार्यवाहक अध्यक्ष निर्मला सुनार लगायतले प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेट ल्याउन आग्रह गरे । उनीहरूले तीन तहको सरकारले युवामैत्री नीति तथा कार्यक्रम ल्याउन नसक्दा युवा विदेशिने गरेको टिप्पणी गर्दै भने, ‘अबको बजेट कम्तिमा युवाहरूलाई नेपालमै रोक्न सक्ने गरी बन्नुपर्छ ।’

वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा ४०.३ प्रतिशत युवा छन् । कार्यक्रमका विशेष वक्ताका रूपमा रहेका लुम्बिनी प्रादेशिक विश्वविद्यालयका उपकुलपति डा. विनोद भट्टराईले निकै सम्भावना बोकेको लुम्बिनी प्रदेशको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए । ढकालले शिक्षामा विश्वबिद्यालयबाट दिक्षित भए लगत्तै मुलुक बाहिर जाने सोंचको विकास गरिनु नहुने बताए । उनले शिक्षामा स्वदेशमै स्व–रोजगारको विश्वास दिलाउने नीति बन्न आवश्यक रहेको बताउँदै शिक्षाले उद्यमशिलता सिकाए युवामा बिदेश जाने चाहनामा कमी आउने विचार व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारले १० पालिकामा बिस्तार गरिसकेको युवा समिति बाँकी ९९ सय पालिकामा पनि क्रमशः पुर्याउने लक्ष्य राखेको कार्यक्रममा जानकारी दिइएको
थियो ।

Exit mobile version