विद्युत अनियमित, गर्मीमा सास्ती

बुधबार नेपालगन्जमा यसबर्षकै बढी तापक्रम रेकर्ड भएको छ । जसले गर्दा नेपालगन्जमा बुधबार अत्याधिक गर्मी महसुस भयो । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगन्जकी इञ्जार्च मीना शिवाकोटीले बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिइन् । उनले उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको बताइन् ।

पछिल्ला दिनहरूमा नेपालगन्जको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा बढी रह्यो भने न्यूनतम तापक्रम नै ३० डिग्री नाघ्यो । अत्याधिक तापक्रम सँगै चल्ने तातो हावा, एकाविहानै देखि महसुस हुने गर्मी र २४ सै घण्टा अनियमित विद्युतले नेपालगन्जको जनजीवन कष्टकर हुँदै गएको छ । गर्मीबाट जोगिन सचेतनामूलक माइकिङ्ग नेपालगन्ज क्षेत्रमा भैरहँदा विद्युत नियमितका लागि सरोकारवाला निकायबाट ठोस काम भने हुन सकेको छ ।

प्रत्येक बर्ष जस्तो गर्मी बढ्दै जाँदा पूर्व सूचना बिना हुने विद्युत अनियमितताले यस बर्ष पनि निरन्तर रहेको छ । ‘१०÷१५ मिनेट विद्युत आउने र घण्टौ विद्युत नआउँदा रातीको समयमा समयमा समेत गर्मीले निदाउन नपाउने अवस्था छ’, नेपालगन्जका स्थानीय भन्छन्, ‘निर्धारित समयमा विद्युत बिल नतिर्दा नियम भन्दै जरिवाना असुल्ने विद्युतले विना पूर्व सूचना विद्युत काट्दा कुनै कारवाही हुँदैन ।’

जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ । गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

वीरगन्जबाट कामको सिलसिलामा नेपालगन्ज आएका सरोज पटेलले वीरगन्ज भन्दा नेपालगन्जमा धेरै गर्मी महसुस गरेको बताए । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उनले भने ।

स्थानीयले विद्युत प्राधिकरणमा चासो राख्ने मात्रै होइन पत्रकार भेट्दा नै विद्युत अनियमितताबारे समाचार लेखिदिन आग्रह गर्दछन् । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् ।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । ‘विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ’, स्थानीय आरती गौतमले भनिन् ।

‘चर्को गर्मीमा बाहिर बस्न सकिंदैन, घर तातिएको छ, त्यसमाथि विद्युत हुँदैन’, विद्युत अनियमितताले झनै सास्ती दिइरहेको बबिता अधिकारी बताउँछिन्, ‘विद्युत आउँदा समेत भोल्टेज हुँदैन, पंखाको हावा समेत पाउने अवस्था हुँदैन ।’

चर्को गर्मीमा विद्युत अनियमित हुँदा स्थानीय साना, ठूला व्यवसायी, स्थानीय आक्रान्त भएपछि नागरिक समाजले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाहरू बीच छलफल गर्यो । तर, नेपालगन्ज वितरण केन्द्र प्रमुख छलफलमा उपस्थित नहुँदा समस्या समाधानका लागि ठोस जवाफ पाउन सकेनन्, छलफलमा सहभागीले । ‘आफ्ना समस्या प्रमुख जिल्ला अधिकारी र वितरण केन्द्रका प्रतिनिधिलाई राखेर फर्कियौं, कुनै ठोस जवाफ पाउन सकेनौं’, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘यसबारेमा ऊर्जा मन्त्री,, नेपाल विद्युत प्राधिकरणमा पनि कुरा गरेका छौं, तर समस्या समाधान भएको छैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले विद्युत अनियमित हुँदा उद्योग, व्यवसाय समेत राम्रो सँग चल्न नसकेको बताए । ‘प्रत्येक बर्ष गर्मीमा कुनै न कुनै बहानामा विद्युत अनियमित हुन्छ, हरेक बर्ष समस्या आउँछ भनेपछि किन पूर्व तयारी गरिंदैन’, उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले विद्युत सम्बन्धी समस्या तत्काल समाधान गर्न आग्रह गरे । महासचिव भीम बहादुर रानाभाटले विद्युत सम्बन्धी समस्यालाई लिएर आज बिहीबार नेपालगन्ज उद्योग वाणिज्य संघमा छलफल कार्यक्रम राखिएको जानकारी दिए । ‘विद्युत समस्या समाधान गर्न नसकिने विषय होइन, तर किन बेवास्ता भैरहेको छ’, उनले भने ।

छलफल कार्यक्रममा विभिन्न संघ, संस्था, राजनीतिका दलका प्रमुख तथा प्रतिनिधि, समाजिक तथा उद्योग, व्यवसायी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।
भेरी अस्पताल नेपालगन्जका चिकित्सक डा. संकेत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए । उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताउनुभयो । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको बताए । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उनले भने ।

Exit mobile version