देशमा आजः ८ बजे ८ खबर

१. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताएका हुन् ।

२. मधेशमा पानी अभावको विषय उठाएर शनिबार मधेशका बासिन्दाले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् ।

३. दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

४ं मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

५. हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

६. श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताएका छन् । जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजित मेलाको शनिबार उद्घाटन गर्दै उनले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गरे ।

७. पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ ।

८. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको शनिबार बनेपामा आयोजित ४२औँ साधारणसभामा उहाँले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

Exit mobile version