‘मानसिक स्वास्थ्यका लागि स्वस्थकर खाना’

मानसिक रूपमा स्वस्थ हुन स्वस्थ खानाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. अरूणा उप्रेतिले बताएकी छन् ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालगन्जमा बाँके, बर्दियाका सञ्चारकर्मीका लागि आयोजना गरिएको मानसिक स्वास्थ्यः आम संचारको भूमिका बिषयमा विषयक छलफल कार्यक्रममा डा. उप्रेति र मनोसामाजिक परामर्शकर्ता सुदिपा ढुंगानाले मानसिक रूपमा स्वस्थ हुन पोषण युक्त खानाको महत्व, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको लक्षण पहिचान गरी परामर्श र उपचारले स्वस्थ हुन सक्ने अवस्थाबारे जानकारी दिंदै लक्षण पहिचान कसरी गर्ने भन्नेबारे बताएका थिए ।

कार्यक्रममा बोल्दै डा. उप्रेतिले पछिल्लो समय गर्भावस्तादेखि नै स्वस्थकर खाना नखाँदा त्यसले दीर्घकालीन रूपमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्त्याउने गरेको कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई बताइन् । ‘गर्भावस्थादेखि आमाले खाने खानेकुरा, बच्चा जन्मेपछि उसलाई खुवाउने खानेकुरा, बच्चा हुर्कने वातावरण बालबालिका मैत्री नहुने हो भने सानै उमेरमा नै मानसिक स्वास्थ्य समस्या निम्तिन सक्छ’, उनले भनिन्, ‘जंग फुड, बालबालिका तथा किशोरकिशोरी प्रविधिको प्रयोग गरेर खेल्ने विभिन्न खेलहरू पनि मानसिक स्वास्थ्यका लागि चुनौति हुन् ।’

डा. उप्रेतिले सानै उमेरमा बच्चाको टेलिभिजन, सामाजिक सञ्जाल हुने पहुँच कारण त्यसमा प्रदर्शन गरिने विज्ञापनले पनि बच्चाले खान नहुने अस्वस्थकर खानेकुरामा बालबालिका आकर्षित हुने गरेको बताइन् । ‘अभिभावकले पनि घरमै खानेकुरा बनाउने भन्दा जंगफुडहरू बालबालिकालाई दिंदा त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा असर पुर्याएको छ’, उनले भनिन्, ‘अभिभावक, चिकित्सक र उमेर पुगेका मानिसहरू भ्रमपूर्ण रूपमा गरिने विज्ञापनको प्रभावमा पर्नुहुँदैन ।’

बालबालिका उमेरमै मानसिक स्वास्थ्य समस्या देखिनुमा विभिन्न कारणहरू रहेको डा. उप्रेतिले बताइन् । ‘मस्तिष्कको, चेतनाको विकास भैरहेका बेला सही गाइडलाइन नहुँदा बालबालिकाले स्वास्थ्य समस्या झेल्नु परेको अवस्था पाइन्छ’, उनले भनिन् ।

‘मानसिक स्वास्थ्य समस्याको पहिचान समयमै हुने हो भने सामान्य समस्या परामर्श र जटिल समस्याहरू उपचारबाट निको हुनसक्छ, केही जटिल समस्याहरू बढ्न पाउँदैनन्’, डा. उप्रतिले भनिन् ।

डा. उप्रेतिले मानसिक समस्या लुकाउँदा पनि त्यसले अप्रिय अवस्था आउने देखिएको भन्दै यसलाई अन्य रोग जस्तै सामान्य रूपमा लिनुपर्ने बताइन् । ‘आफुमा देखिएको समस्या स्वीकार गरेर अरूलाई जानकारी दिने, परामर्श लिनु उचित हो’, मानसिक समस्या भएमा लुकाउने प्रवृत्तिबारे उदाहरणहरू प्रस्तुत गर्दै उनले भनिन् ।

डा. उप्रेतिले बाल्यकालदेखि नै जीवनशैली परिवर्तनको आवश्यकता औंल्याउँदै त्यसका लागि सञ्चारकर्मीहरूले सचेतनाको पाटोमा प्रभावकारी काम गर्न आग्रह गरिन् ।

मनोसामाजिक परामर्शकर्ता सुदिपा ढंगानाले परामर्शबाट पनि कतिपय मानसिक समस्या भएका बिरामीहरू निको भएको बताइन् । उनले अभिभावकहरूले नै बच्चामा रहेको समस्या स्वीकार नगर्ने, अस्पताल नै पुर्याउँदासम्म पनि बच्चामा रहेका विभिन्न समस्याको कारण नबुझ्ने गरेको पाएको बताइन् ।

‘मानसिक समस्या जुनसुकै उमेरका व्यक्तिलाई थाहै नपाइ हुनसक्छ’, मनोसामाजिक परामर्शकर्ता ढुंगानाले भनिन्, ‘त्यसले त्यस्ता समस्याको लक्षण पहिचान गर्न सचेतना फैलाउन आवश्यक रहेको छ ।’ मानसिक स्वास्थ्य समस्याको समयमै उपचार नहुँदा अप्रिय अवस्था निम्तिरहेको भन्दै उनले सचेतनाका लागि अब सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै सिविन नेपाल, नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बालबालिका, किशोरकिशोरीलाई हुने मानसिक स्वास्थ्य समस्याको गुनासोमा सिविनले अस्पतालसँग सहकार्य गरेर उपचारमा सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्य बिग्रदाको लक्षण, स्वस्थकर पोषण युक्त खानेकुरा, योगविधि लगायतका बारेमा जिज्ञासा राखेका
थिए ।

Exit mobile version