विद्युतले लिखित समस्या नदिएपछि आज बैठक

आइतबार विद्युत समस्या समाधानका लागि गठित संयन्त्रको बैठक स्थगित भएको छ । माग गरे अनुसार समस्या लिखित रूपमा प्रस्तुत नभएपछि बैठक आज सोमबार पुनः बस्ने गरी स्थगित गरिएको संयन्त्रका सदस्य सचिव भीम बहादुर रानाभाटले जानकारी दिएका छन् ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रसँग संयन्त्रले यसअघि लिखित रूपमा समस्या र समाधान माग गरेको थियो । तर, आइतबारको बैठकमा वितरण केन्द्रबाट लिखित सुझाव र कार्यालय प्रमुख नै उपस्थित नभएपछि संयन्त्रको बैठक पुनः बस्ने गरी स्थगित गरिएको हो ।

‘सोमबार वितरण केन्द्र प्रमुखसँग विद्युतका समस्या लिखित रूपमा उपलब्ध गराइ बैठकमा सहभागी हुन अनुरोध गरेका छौं’, संयन्त्रका सदस्य सचिव रानाभाटले भने, ‘समस्या लिखित प्राप्त भएपछि संयन्त्रले समाधानका लागि प्रयास गर्नेछ ।’ उनले अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि संयन्त्रले तत्कालै पहल थाल्ने बताएका छन् ।

नेपालगन्जमा गर्मीका बेला विद्युत अनियमित हुँदा आम नागरिक, उद्योगी, व्यवसायी मर्कामा परेपछि नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा संघ अध्यक्ष टंक बहादुर धामीको संयोजकत्वमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी संयन्त्र गठन गरिएको थियो । आइतबारको बैठकमा वितरण केन्द्रबाट प्रतिनिधि पठाइएपनि उनीहरूले समस्याहरू लिखित रूपमा नदिएपछि पुनः बैठक बस्ने निर्णय संयन्त्रले गरेको थियो ।

Exit mobile version