देशमा आजः ८ बजे ८ खबर

१. स्थानीय तहका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् ।

२. सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो ।

३. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१÷८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए ।

४. केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउँदै छ । त्यसमध्ये प्रदेशमा ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ अनुदान जाने छ । यो वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानमा जाने रकमको योग हो ।

५. लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।

६. नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

७. चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर–३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ । बहसमा सहभागी नेपाली चलचत्रिका अभिनेता निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेको बताए ।

८. सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

Exit mobile version