हरित अभियानमा हेमन्त

हरित अभियानमा लागेका नेपालगन्जका युवा हेमन्तराज काफ्ले यतिबेला राजधानी काठमाडौंमा छन् । ‘नेपालगन्ज र आसपासमा अब बर–पीपलका रुखहरुको आवश्यकता निकै खट्किएको छ,’ चर्चित गायिका आनी छोइङ डोल्मा, अभियन्ता भिम उपाध्याय लगायतलाई विरुवा हस्तान्तरण गरिरहेका हेमन्तले दैनिक नेपालगन्जसँग भने, ‘अभियानकै रुपमा अगाडी बढिनेछ ।’

‘तिमी मलाई बीउ देउ म तिमीलाई रुख दिन्छु भन्ने अभियान चलाइरहेका हेमन्तराज काफ्लेले यसबीच दस हजार बढी विरुवा नेपालगन्ज र आसपासमा वितरण गरिसकेको बताउँछन् । सितल चीनीको वृक्षरोपणलाई अभियाननै बनाएका उनका अनुसार, निम, जामुन, अमला, राज वृक्ष, अर्जुन जस्ता बिरुवाहरु वितरण गरिएका छन् । ‘सितल चीनीका विरुवा त देशभर लाखौको संख्यामा वितरण गरियो होला,’ हरित अभियन्ता उनले भने ।

अहिले विभिन्न जिल्लामा सितल चीनीका हजारौं बिरुवाहरुका लागि उनले बीउ पठाइरहेको बताउँछन् । हरित अभियान निकै राम्रो हुँदै गएको र मानिसहरुमा रुखको आवश्यकता बोध गरिरहेकोमा सन्तुष्ट हेमन्त चेतना बढ्दै गएकोमा खुशी लागेको बताउँछन् । ‘उसो त प्रत्येक बाताबरण दिवसमा विरुवा लगाउने रमाइलो गर्ने फोटो खिच्ने फेसबुकमा हल्ला मच्चाएर पछि मतलबनै नगर्नेहरु पनि थुप्रै रहेको’ भन्दै बाताबरण दिवसमा लगाएका रुख मात्र बचाउन सके गज्जब हुन्थ्यो भन्छन् । ‘रुख लगाउनु पर्छ भन्ने चेतना त भयो, तर रुख बचाउनु पर्छ भनेर चेतना हुन निकै जरुरी छ,’ उनी भन्छन् ।

हरित अभियानले नेपालगन्जमा रुख बिरुवा लगाउनेहरुको लागि सहजै निशुल्क बिरुवा उपलब्ध गराउने अभियन्ता हेमन्तले बताए । ‘अब विरुवा लगाउने मात्र होइन, रुख बचाउन तिर लाग्न निकै जरुरी छ,’ नेपालगन्ज आफैमा गर्मी ठाउँ भएकाले बाटोलाई बढाएर भए पनि दुबै तिर रुख लगाउन निकै जरुरी देखिएको तर्क गर्ने अभियन्ता हेमन्त भन्छन्, ‘अब कुनै पनि नयाँ बाटो बनाउँदा हरित जोन तथा बिद्यालय, सरकारी कार्यलयहरुलाई हरित कार्यालय भन्ने अभियान उपमहानगरपालिकाले चाल्नु पर्छ ।’ घर बनाउँदा कम्तिमा ४ वटा कुनै पनि बिरुवा लगाएर हुर्काउने, संरक्षण गर्ने शर्तमामात्रै नेपालगन्जमा घरनक्सा पास गर्ने नियम बनाउनु पर्ने सुझाव उनको छ ।

रुख किन त ? भन्ने अभियान बिद्यालयस्तरमै पुगेर नगरले चाल्नु पर्ने सुझाव आफैपनि शिक्षक रहेका हेमन्त दिन्छन् । म पनि विद्यार्थीसँग विरुवा अभियान लिएर विद्यालय जाने योजनामा छु,’ हेमन्त भन्छन्, ‘माध्यामिकस्तरका सरकारी वा संस्थागत बिद्यालयमा पुगेर प्रत्येक बिद्यार्थीले दुई वटा पानीको बोतल खोज्ने र काटेर माटो भरेर बिद्यालयमा ल्याएपछि म विउ दिन्छु, विरुवा तयार गर्छन् उनीहरु ।’ विद्यार्थीहरुले लगाएको बीउ बिरुवा हुँदै हुर्किएपछि बिद्यार्थीहरुले घरमै लगेर लगाउने, हुर्काउने र संरक्षण गर्ने अभियान चलाउने उनको योजना हो ।

मंगलवारमात्रै प्रतिनिधिसभा सदस्य सुर्य ढकालसँग हरित अभियानका लागि आवश्यक सहयोगका लागि भेटवार्ता गरेका अभियन्ता हेमन्तले नेपालगन्जलाई हरियाली बनाउने कुरामा नगरवासीनै गम्भीर हुनुपर्ने औल्याउँछन् ।

Exit mobile version